‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने



फागुन १४– टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ । सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त रियालिटी शो को पहिलो अडिसन आउँदो चैतको पहिलो साता भरतपुर माविमा हुन लागेको हो । ‘एसआरबीएन’ मिडियाले सञ्चालन गर्न लागेको ‘द लिडर’ को पहिलो शो चितवनबाट गर्ने गरी तयारी भईरहेको द लिडरका निर्माता रमेश न्यौपानेले जानकारी दिए । उनले अडिसनका लागि भरतपुर माविलाई छनोट गरिएका जानकारी दिए ।

कार्यक्रमको निर्णायकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा साझा पाटीका संयोजक रविन्द्र मिश्र, नेताहरु प्रदिप गिरी र प्रदिप नेपाल रहने छन् । कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरेर १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने न्यौपानेले जानकारी दिए ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ । कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयोजकले दाबी गरेको छ ।
चितवन अडिसन लगत्तै सुनसरीको इटहरी, जनकपुर, पोखरा, बुटवल, धनगढीमा हुने छन् । उपत्यका बाहिरका अडिसन सकिएपछि देशबाहिर ५ स्थानमा अडिसन गरिनेछ । त्यसलगत्तै काठमाण्डौमा पहिलो चरणको गरिने ‘द लिडर’ का निर्माता न्यौपानेले बताए । अडिसनमा सहभागि हुनका लागि गुन्द्रुक एप मार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार