
काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । आजको बैठकमा नियमित विषयमा मात्रै छलफल भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । आजको बैठकमा उल्लेख्य एजेन्डा थिएन । मन्त्रालयगत नियमित विषय मात्रै थिए,” उनले भनिन् । सामान्यतस् मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गर्छ । हिजो नबसेकाले आजको बैठक बसेर नियमित कार्यसूचीमाथि छलफल गरिएको एक मन्त्रीले जानकारी दिए ।
ओलीद्वारा मुख्य सचेतकको राजीनामा माग
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग राजीनामा गर्न निर्देशन दिएका छन्। तर आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफका साथ गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेको बुझिएको छ।
दुई दिन अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुरुङलाई राजीनामा दिन निर्देशन दिएका थिए। पार्टीले दिएको दायित्व पार्टीले मात्र लिन सक्छ भन्ने गुरुङको जवाफमा प्रधानमन्त्री ओलीले आफू स्वयं पार्टीको नेतृत्व रहेको र गुरुङलाई त्यो हैसियत आफूले प्रदान गरेको सुनाएको स्रोतले बतायो। गुरुङले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाले राजीनामाको माग असान्दर्भिक भएको उत्तर दिएका थिए। प्रधानमन्त्रीसँग भएको वार्ता र आफूलाई दिएको तर्कबारे गुरुङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य केही सहकर्मीहरुलाई जानकारी दिएको पनि स्रोतले बतायो।