राष्ट्रिय सभामा गौतम कि खतिवडा भन्नेबारे नेकपामा बबन्डर



काठमाडौँ, १५ फागुन । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय आफूले नमान्ने र अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि पछिल्लो विवाद बढेको हो । दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत खतिवडालाई नै फेरि मनोनयन गराउने ओलीको चाहना प्रस्ट रूपमा प्रकट भएको छ ।

यता बुधबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सचिवालय बैठकले भने खतिवडाको बहिर्गमनपछि राष्ट्रिय सभामा रिक्त हुने उक्त स्थानमा पार्टी उपाध्यक्ष गौतमलाई सिफारिस गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार