नेकपामा बन्यो नयाँ समीकरण, बादल संगै नेपालले पनि दिए प्रचण्ड लाई धोका !



काठमाडौँ | पार्टी विवादमा सधैँ तटस्थ रहँदै आएका बादललाई स्थायी कमिटी सदस्यहरूले ‘केरकार’ गरे संगै कित्ता छुट्टयाउन आग्रह गरे ।तर, सरकारको प्रश्नमा ओलीलाई साथ दिँदै आएका बादलले पार्टीको ध्रुवीकरणमा कित्ताकाट गर्न उचित ठानेनन् । त्यसपछिको बहस र विवादमा पनि उनी तटस्थ रहँदै आएका छन् । प्रचण्ड–नेपाल समूहले मात्रै होइन बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कित्ताकाट गर्न आग्रह गरेको नेकपाका नेताहरू बताउँछन् ।

तर, मङ्सिर २० गतेको सचिवालय बैठकमा भने उनी फरकरूपमा प्रस्तुत भए । आफ्नै शैली–स्वभावलाई उछिन्दै पार्टीभित्रको विवाद समाधानका लागि विकल्प अघि सारे । पार्टी अध्यक्षद्वयले एकअर्कालाई आरोप–प्रत्यारोप लगाएर गर्दै प्रस्तुत गरेको प्रस्तावलाई पार्टीको सम्पत्ति मानेर साझा प्रस्ताव ल्याउनुपर्ने निचोड सुनाए ।उनको प्रस्तावमा प्रधानमन्त्री ओलीले सहमति बनाउँदै कार्यदल बनाउनुपर्ने भन्दै उपाध्यक्ष वामदेव गौतमलाई संयोजक प्रस्ताव गरे । एमाओवादीबाट अलग्गिएर नेकपा क्रान्तिकारी माओवादीतिर लागेका रामबहादुर थापा बादल बहूल सदस्यसहित २०७३ जेठमा पुनः माओवादीको मूल आन्दोलनमा समाहित भएका थिए । पार्टी विभाजनको पीडा बेहोरेकाले बादल पुनः फुटको बाटोमा हिँड्न नचाहेको उनी निकटस्थहरू छन् ।

“बादलको स्पष्ट लाइन छ– पार्टी फुट्नु हुँदैन । महाधिवेशनबाट सङ्गठनात्मक एकता र वैचारिक एकता पूरा नहुँदासम्म पार्टी विभाजनको पक्षमा उभिन नहुने उहाँको मत छ,” बादलनिकट केन्द्रीय सदस्य सूर्य सुवेदी प्रस्ट्याउँछन् । यता नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

उनले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापीरुपमा फैलिँदो छ । समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन’, उनले भने । उनले वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न, बैठकमा आएर छलफलमा सहभागी भएर निकास निकाल्न सुझाव दिए । ‘पार्टीभित्र सबै समस्याबारे छलफल हुनुप¥यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं । हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं । अहंकारले नै लंका दहन भएको हो’, नेपालले भने । नेकपा भित्र देखिएको यो नयाँ घटनाक्रमले नेकपा भित्र नयाँ समीकरण हुने देखिएको छ।

बालुवाटारमा ओली संग प्रचण्डले खाए कसम
सहमतिको झिनो आशासहित संवादको सिलसिला अगाडि बढाएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार अब एक्लाएक्लै नभेट्ने भन्दै छुट्टिएको पाइएको छ। सहमतिको प्रयासमा मंसिर १९ गते राति यता दुई पटक टेलिफोन संवाद र दुई पटक प्रत्यक्ष भेट गरेका ओली र प्रचण्ड अब एक्लाएक्लै नभेट्ने भन्दै छुट्टिएको स्रोतको दाबी छ। स्रोतका अनुसार बुधबारको भेटमा ओलीले प्रचण्डको माग अनुसार आफू पार्टी अध्यक्षबाट मात्रै नभई प्रधानमन्त्री पदबाट पनि राजीनामा नदिने अडान दोहोर्याएका थिए। साथै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको समिकरण तोडेर आफूसँग सहकार्य गर्न ओलीले प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्डले भने आफू र माधव नेपालबीचको सम्बन्ध ओलीसँगको भन्दा पुरानो भएको र नेपालबाट आफूले धोका नभई साथ पाउने दृढता ओलीसमक्ष पेश गरेका थिए।

त्यसैक्रममा ओली र दाहालबीच भनाभन भएको थियो र प्रचण्डले भनेका थिए, ‘तपाईँ र मेरो जतिपटक भेट हुन्छ त्यति पटक झगडा मात्रै हुन्छ। सहमतिका लागि कुनै काम हुँदैन। अब हामी एक्लाएक्लै नभेटौँ। आवश्यक परे संवादका लागि तपाईँले आफ्ना साथीहरु तोक्न सक्नुहुन्छ।’ जबाफमा ओलीले ‘ठिकै छ त्यो भए म त्यसै गरुँला’ भनेका थिए। प्रचण्डले को पठाउनुहुन्छ भन्ने प्रश्न ओलीतर्फ तेर्साएपछि ओलीले म सुवास नेम्वाङ र शंकर पोखरेललाई पठाउँला भनेका थिए। त्यसपछि उनीहरु बालुवाटारबाट छुट्टिएको स्रोतको भनाइ छ। विधिसम्मत् प्रक्रियामा वारपारको लडाईँ सुरु गरेका ओली र प्रचण्डले यही मंसिर १९ गते टेलिफोनबाट संवाद गरेर आफूहरुबीचको २५ दिन लामो संवादहिनताको अवस्था तोडेका थिए। भोलीपल्ट मंसिर २० गते सचिवालय बैठकभन्दा करिव आघा घण्टा अघि ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

तर त्यसलगत्तै बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आफूविरुद्धको अप्रमाणित फौजदारी कानुन आकर्षित हुने प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए र त्यसबारे छलफल हुने भए भोलीपल्ट प्रस्तावित स्थायी कमिटी बैठकमा आफू सहभागि नहुने अडान लिएका थिए । तर प्रचण्डले आफ्नो सँगै ओलीले आफूलाई फर्काएको जबाफपत्रमाथि पनि छलफल गर्ने भन्दै पूर्वनिर्धारित समयमा पार्टी कार्यालय धूम्बाराहीमा स्थायी कमिटी बैठक बोलाएका थिए। बैठकमा सहभागि नभएका ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने र त्यो फिर्ता हुनुपर्ने अडानसहित पत्र पठाएका थिए। ओलीको पत्रसँगै प्रचण्डले केही लचिलो बन्दै बैठकको एजेण्डा ‘पार्टीको आन्तरिक समस्यामाथिको छलफल’ मात्रै राखेका थिए। प्रचण्ड पक्षले बैठकको यो साझा एजेण्डा भएको तर त्यसअन्तर्गत दुवै प्रस्ताव, सचिवालयमा पेश भएका अन्य पत्रहरु, एमसीसी, पार्टी एकतालगायत विषय छलफल गर्नुपर्ने अडान लिएको छ।

त्यसै कारण दुवै प्रस्ताव अध्ययनका लागि एक साताको समय दिएर बैठक स्थगित गरेको उसको दाबी छ। यो बीचमा सहमतिका लागि अनौपचारिक संवादको भने खुल्ला रहेको बैठक सामापन भएका दिन प्रचण्ड पक्षका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार