लोक सेवा आयोगद्वारा ५ सय १३ जना शाखा अधिकृतको लागि विज्ञापन (विज्ञापनसहित)



काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आफ्नो नियमित कार्यतालिका अनुसार मंसिर बुधवार (आज) एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृत पदमा विज्ञापन गरेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि आयोगले दरखास्त आव्हान गरेको हो । जसमध्ये एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ ।

आयोगले गरेको विज्ञापन अनुसार न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ । यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।

परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ । यस्तो ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जना रहेको छ ।

विज्ञापन खुलाए पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ । परीक्षा केन्द्र भने प्रथम चरणको लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ भने द्वितीय चरणको लागि आयोगका धनकुटा काठमाडौँ, पोखरा,जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ । दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

विज्ञापन:

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार