दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक !



काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार उक्त एप भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् । एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् । भौतिक कक्षा सञ्चालन नहुँदाको अवस्थामा यी सामग्रीको उपयोग गरी विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर राख्न मद्दत पुग्ने ठानिएको छ । कोभिड–१९ फैलिएयता देशभरि औपचारिक रूपमा भौतिक कक्षा हुन सकेको छैन । मन्त्रालयले गत जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो । परिमार्जित निर्देशिकाको आधारमा स्थानीय तहले अनुकुल परिस्थिति रहेका विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

‘कोभिडको महाविपत्तिलाई सम्बोधन गर्न वैकल्पिक सिकाइका विभिन्न मोडेलहरू अपनाउँदै आइएका छन्,’ महामारीको बेला विद्यार्थीको न्युनतम सिकाइलाई निरन्तर राखिएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘यसैबीचमा हालैमात्र सीयुजी अवधारणालाई मन्त्री परिषद्को निर्णयले कार्ययोजना अघि बढाएको छ । प्रविधिमा समान पहुँच बढाउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई यी माध्यमबाट लाभान्वित तुल्याउने प्रयास भएको छ ।’

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भौतिक कक्षा सुचारु नहुँदाको अवस्थामा एपमा समेटिएका सामग्री राम्रो आधार भएको बताए । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार एपमा यसअघि निर्मित अनलाइन शैक्षिक सामग्रीहरू, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् । ‘तत्काल कक्षा १० सम्मका सामग्री समेटिएका छन्,’ उनले भने, ‘अब कक्षा १२ सम्म थप्ने अभ्यासमा छौं ।’ हालसम्म रेडियो (एफएमहरूसमेत), टेलिभिजन, अनलाइन, युट्युबमार्फत् वैकल्पिक कक्षा सञ्चालन हुँदै आएका छन् ।

कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार