
काठमान्डौ | नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए ।
एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल सुरु भएको हो । प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको बताए । आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप घनीभूत छलफल भोलिदेखि सुरु हुने छ । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ ।
बैठकमा चर्काचर्की
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नै नराख्न मंगलबार प्रस्ताव गरेपछि चर्काचर्की परेको छ । बैठकको सुरूमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको स्रोतले जानकारी दियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए ।दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको स्रोतले जानकारी दियो ।
प्रतिगमन फर्काउने सपना नदेखे हुन्छ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिलाई फेरि पुनस्र्थापना हुने सपना नदेख्न सुझाव दिएका छन् । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी देखिए पनि त्यसलाई सच्याउन राजनीतिक दलहरू सक्षम रहेको उनको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकपछि पत्रकारहरूले राखेको एक प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले प्रतिगामी शक्तिले प्रतिगमनको सफलता नसोचे हुने बताएका हुन् ।
‘प्रतिगामी शक्तिले प्रतिगमनको सफलता नसोचे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी भएका छन् भने त्यसको समीक्षा गरी अगाडि बढ्छौं,’ श्रेष्ठले भने, ‘तर जनताद्वारा विस्थापित शक्तिले पुनःस्थापना हुने सोच नराखे हुन्छ ।’