नेकपा सचिवालय बैठक सकियो,यस्तो आयो निर्णय



काठमाडौं । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको छ । यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठकमा छलफल भएको हो ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको जनाइएको छ । बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटी प्रधानमन्त्री एवं पार्टीका ओली,अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार