पोखरामा गुञ्जियो ‘श्रीमान गम्भीर नेपाली..’, राजसंस्था व्युँताउने भन्दै हजारौं युवाहरु सडकमा



पोखरा १० मंसिर । पश्चिमाञ्चलवासी नेपाली जनताहरुको आयोजना नाममा आज पोखरामा भएको कार्यक्रममा गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु “ राजा आउ देश बचाउ “को नारा लगाउँदै बाजागाजासहित सडकमा निस्किएका छन् । देशव्यापीरूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुँदै आईरहेको बेला बुधबार पोखरामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा विशाल मोटरसाइकल र्याली निकालिएको हो ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने पञ्चायतकालीन नारा लगाउँदै कोरोनाको महामारीकाबीच हजारौं युवाहरु सडकमा उत्रिएका थिए ।उक्त अवसरमा राजा ल्याऔं देश बचाऔं, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए । र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए ।

कास्कीका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नामक र्यालीमा सहभागी हुन आएका थिए । प्रहरीको कडा सुरक्षाको घेराबाट पोखराको अमरसिंह चौरबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सहभागी शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए । आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे । कार्यक्रमको रोचकताको लागि अघिल्लो राष्ट्रिय गान “श्रीमान गम्भीर नेपाली “ रातो र चन्द्र सूर्य र फेरि आउ भन्दै गायक प्रयत्न श्रेष्ठले प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार