फास्ट ट्रयाक खन्ने र पुर्ने काम ८८ प्रतिशत सकियो ( तस्बिर सहित )



नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई-मधेश फास्ट ट्रयाक सडक खण्डको खन्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको छ। सेनाद्वारा जारी विज्ञप्तिअनुसार हाल सुरुङ र पुलबाहेक सडक खण्डको कालोपत्रे पूर्वको अधिकांश काम सकिएको हो। कुल ७२.५ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६.४१ किलोमिटर सुरुङ र १०.५९ किलोमिटर पुल पर्छ। ५५.५ किलोमिटर सडक भागमध्ये ४४.१ किलोमिटर सडक खण्डको कालोपत्रे पूर्वको काम सकिएको हो।

सेनाका अनुसार सुरुङ मार्गको ठेक्का बन्दोबस्त सम्बन्धी कार्य भइरहेको छ। महादेवटार, धेद्रे र लेनडाँडामा गरी तीनवट सुरुङ बन्दैछन् । सुरुङको लम्बाई ६.४१ किलोमिटर छ। पुल निर्माणका लागि राष्ट्रिय परामर्शदाता छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ। कोरोना भाइरस प्रकोपबीच पनि आयोजनाका काम नरोकिएको सेनाको दावी छ।

सबै तस्बिर सौजन्यः नेपाली सेना

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार