कोरिया छु भनेर के फुर्ती लाउनु! ‘बोलीपिच्छे गाली खाइन्छ, लात नहान भनेर झगडा गर्नुपर्छ’



‘बोलीपिच्छे गाली खाइन्छ, लात नहान भनेर झगडा गर्नुपर्छ’छिटो र मागअनुसार उत्पादन बढाउन सकेन भने नेपाली कामदारमाथि दुर्व्यवहार पनि त्यत्तिकै हुने गरेको छ । खासगरी सुपरभाइजर (फुजान) ले गाली गर्छन् । ‘काम गरिरहेका बेला पछाडिबाट लात हान्दै आउँछ, किन लात लगाएको भन्दा तँ मभन्दा ठूलो मान्छे होस् र भन्छ,’ सिन्धुलीका परियारले भने, ‘लात नलगा भनेर झगडा गर्नुपर्छ ।’ इन्चनमा ४ वर्ष ५ महिना काम गरिसकेका सोलुखुम्बुका पूर्ण राईले भने, ‘आरामले गर्दा एक मिनेट लाग्ने कामलाई २० सेकेन्डमा सक्न लगाउँछन् । फेरि त्यो काम एकदमै राम्रो हुनुपर्छ ।’ परियारका अनुसार फिलिपिनी, भियतनामीलाई भन्दा नेपालीलाई फरक व्यवहार हुन्छ ।

‘फिलिपिनीलाई केही अपशब्द बोल्यो भने तुरुन्तै दूतावासका मान्छे कार्यस्थलमा आइपुग्छन्, हाम्रो दूतावासका मान्छेलाई यस्ता गालीगलौजले छुँदैन, मान्छे मर्‍यो भने मात्रै छुन्छ,’ उनले भने । त्यसैले कामदारले आफूमाथि भएको दुर्व्यवहारविरुद्ध स्थानीय प्रहरी वा नेपाली दूतावाससमक्ष पुर्‍याउने गरेका छैनन् ।मेसिन सँगसँगै काम गरेन भने सेक्या र सिफाल भन्दै सुपरभाइजर आइपुग्छ । ‘सुरु सुरुमा त सेक्या र सिफालको अर्थ बुझेको थिइनँ, मतलब पनि हुँदैनथ्यो,’ राईले भने, ‘सेक्या भनेको कुकुरको छाउरा र सिफाल भनेको आमालाई गर्ने गाली भनेर बुझेपछि निकै रिस उठ्यो । ’मन बिझाउने गाली सुन्न नसकेपछि सुपरभाइजरदेखि कम्पनी मालिकसँग झगडासमेत हुन्छ ।

‘हामी निकै सहनशील हौँ । सकेसम्म सहेरै बस्छौं । अति भएपछि मात्रै प्रतिवाद गर्ने हो,’ परियारले भने, ‘कहिले तेरो देशमा प्याज हुँदैन, ल प्याज हेर् भन्दै आउँछ । कहिले यो खुर्सानी हो । पिरो हुन्छ । खाइहेर् भन्दै आउँछ ।कहिले यो बरफ हो । चिसो हुन्छ, छामी हेर् भन्छ । कहिले तेरो देशबाट यस्तो चन्द्रमा देखिँदैन, राम्रोसँग हेर् भन्दै आउँछ । जतिखेर पनि पारो बढाइदिन्छ ।’ आफूमाथि हातपात भएको उजुरी कोरियालीले गरेमा प्रहरीले प्रमाण खोज्दैन । ‘हामीमाथि पिटपाट हुँदा कि मुखबाट रगत आउनुपर्छ कि देखिने प्रमाण चाहिन्छ,’ उनले भने ।एक्लो नेपाली भएको कम्पनीमा झन् बढी हेपिन्छ ।

‘दैनिक १०–१२ घण्टा गाली गर्दै काममा घोटाएपछि उसमा मानसिक तनाव देखिन थाल्छ,’ ६ वर्षदेखि कार्यरत चन्द्रगढी, झापाका हरिकुमाल राजवंशीले भने, ‘कोरियालीको बोलीपिच्छे निस्कने अपशब्दले टोलाउने बनाइदिन्छ ।’रंगनी, ओखलढुंगाका सोमबहादुर बोमजन तामाङले तीन वर्ष एक्लै बिताए । उनी सेनाको जागिर छोडेर कोरिया आएका थिए । सोल नजिकैको पोछन सीको खासानमा सिसा काट्ने कारखानामा काम गर्थे । ‘यो ज्यादै अप्ठ्यारो छ, जोखिम धेरै छ । कोरियालीहरू यो काम त्यति गर्दैनन् । काम सुरु गरेको केही दिनमै भाग्छन्,’ उनले भने, ‘नेपाली बोल्ने कोही भएन । बल्ल एक जना नेपाली आएका छन् । एक्लो हुँदा ज्यादै गाह्रो हुन्छ । सुपरभाइजरको व्यवहार सुनाउने साथी नहुँदा मनभित्रै गुम्सिएर बस्नुपर्ने । त्यस्तो कुरा भित्रभित्र गढेर खिल बन्दोरहेछ ।’

कामदारका अनुसार नेपालीले कोरियामा आत्महत्या गर्नुको एउटा कारण कार्यस्थलमा नियमित हुने दुर्व्यवहार हो । नेपाली दूतावासका अनुसार सन् २००८ देखि २०१९ सम्म ४८ नेपालीले आत्महत्या गरेका थिए । ‘आत्महत्या गर्नुको धेरै कारण होला । कम्पनीले कामदारमाथि गर्ने एउटा व्यवहार पनि हो,’ आप्रवासी कामदारको आधिकारिक युनियन आप्रवासी ट्रेड युनियनका महासचिव मधुसूदन ओझा भन्छन्, ‘कम्पनीले कामदारमाथि गर्ने दुर्व्यवहार निकै डरलाग्दो छ, जसको कतै कुनै रेकर्ड छैन ।’कान्तिपुर बाट शाभार

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार