
२८ कार्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दस पृष्ठ लामो प्रत्युत्तर पत्र लेखेका छन् । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई बैठक बोलाउन सहमति दिन भन्दै दुई पृष्ठ लामो पत्र बुझाएका थिए ।त्यसको जवाफ लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दी गरेको, सरकारलाई काम नै गर्न नदिएको आरोप लगाएका छन् ।
“पटक–पटक मन्त्री र प्रधानमन्त्री भइसक्नुभएका तपाईं सचिवालयका कमरेडहरूलाई म प्रश्न गर्न चाहन्छु, के विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने र घेराबन्दी गरिएको थियो र ? थोरै नै होला, सरकारले गरेका सकारात्मक काम सरकारमा रहनेले मात्रै प्रचार गर्ने, पार्टीपंक्तिलाई मौन राखिएको थियो र ? सरकारले गरेका राम्रा कामको समर्थनमा कोही बोल्न नहुने, केही चर्चा भएमा कसैको देवत्वकरण भन्दै ईर्ष्या गर्ने काम किन भइरहेको छ ? सरकार लोकप्रिय हुँदा नै पार्टी बलियो हुने होइन र ? सोचौं पार्टी एकीकरणपछिको यति लामो अवधिसम्म पनि हाम्रो पार्टी एउटै पार्टीभन्दा संयुक्त मोर्चाजस्तो किन छ ?
एकतापछि हाम्रो सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकारजस्तो किन छ ? यस्तो संक्रमण अन्त्य गर्न ढिला भएन ? यसका लागि नेतृत्व तहका कमरेडहरूको सामूहिक प्रयास आवश्यक पर्दैन र,” ओलीले प्रश्न गरेका छन् ।ओलीले स्थायी कमिटी बैठकमै औपचारिकरूपमा आगामी महाधिवेशनमा अध्यक्ष नलड्ने र अर्को चुनावपछि पछि प्रधानमन्त्री नबन्ने बताइसकेको पत्रमा दोहोर्याइसकेका छन् । तथापि, आफ्नो मनमा गम्भीर प्रश्न खडा भएको भन्दै उनले भनेका छन्, “चारमहिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ?
के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन । त्यसरी नै दुईवर्षपछि आमनिर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्र जारी नै रहनेछ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूलाई दुईवर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने फेरि किन सधैंभरि सरकारका लागि दौडधुप ?”