संकटमा ओली : माधव र वामदेवद्वारा ओलीको प्रस्ताव अस्वीकार



काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चा यसपटक नटुट्ने संकेत देखिएको छ । यसअघि दुईपटक ओलीमाथि सत्ता संकट आउँदा कहिले प्रचण्ड त कहिले वामदेवले सम्झौता गरेपछि मोर्चा टुटेको थियो । तर, यसपटक मोर्चाका कुनैपनि नेता सम्झौतामा नपुग्ने देखिएको छ । प्रधानमन्त्री ओलीले आफूविरुद्धको मोर्चालाई कमजोर बनाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग तीनपटक अलग्गै भेटे । उनले पूर्व एमालेबीचको एकता देखि नेपाललाई भावी अध्यक्षमा सहयोग गर्ने प्रस्ताव समेत गरे । तर, नेपालले पार्टी विधि र पद्धतिको कुरा मात्र गरेनन् पार्टीको समग्र एकता कायम गर्ने प्रस्ताव ल्याउन ओलीलाई आग्रह गरे । उनले ओलीसँग सम्झौता नगर्ने सन्देश दिए ।

ओलीले विश्वासपात्रहरु पठाएर प्रचण्डसँग पटक पटक सहमतिको प्रयास गरे । अलग्गै भेटवार्ता पनि गरे । अलग अलग जाने प्रस्ताव पनि गरे । तर, प्रचण्ड सम्झौताका लागि तयार भएनन् । उनले पार्टी विभाजनको विपक्षमा कुरा गरे । उपाध्यक्ष वामदेव गौतमलाई ओलीले विगतमा दुई पटक विभिन्न प्रस्ताव राखेर आफ्नो पक्षमा ल्याउन प्रयास गरे । कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेर तरंग ल्याइदिए । जसका कारण गौतमले मोर्चा छाडे । दोस्रोपटक पनि गौतमलाई राष्ट्रियसभा सदस्यसहित मन्त्री बनाउने आश्वासन दिए । गौतमले नै ओलीको सत्ता संकट टार्न भूमिका खेले । तर, त्यो आश्वासन पूरा गरेनन् । अहिले गौतम फेरि ओलीविरोधी मोर्चामा आवद्ध छन् ।

यसपटक गौतमलाई ओली सरकारमा सहभागी हुन प्रस्ताव पुगेको छ । उनलाई विष्णु पौडेल र शंकर पोखरेलले छुट्टाछुट्टै भेटेर सरकारमा सहभागी हुन आग्रह गरे । तर, गौतमले आफू व्यक्तिबाट नभई पार्टी विधि र पद्धतिबाट जे बन्नुपरे बन्ने जवाफ दिए । उनले ओलीको पक्षमा नजाने सन्देश दिइसकेका छन् । माधव नेपाल र वामदेव गौतमको पछिल्लो कदम र अडानले प्रचण्डसहितको मोर्चा यसपटक मजबुत रहेको देखिएको छ । ओलीलाई यो मोर्चा टुटाउन निकै कठिन देखिन्छ । तैपनि उनी अनेकन राजनीतिक अस्त्र फालेर विरोधी मोर्चा टुटाउन लागिपरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार