प्रचण्ड र माधवकुमार समूहले नयाँ प्रस्ताव ल्याउँदै !



काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको भोलिका लागि तय भएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पक्षधरले महत्वपूर्ण प्रस्ताव अगाडि सार्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरले विगतको सहमति कार्यान्वयनको बिन्दुबाटै अगाडि बढ्ने प्रस्ताव प्रस्तुत गर्ने भएको हो ।

विश्वस्त स्रोतका अनुसार सहमतिका लागि हालै गरिएको नयाँ मन्त्री नियुक्ति र राजदूत नियुक्तिको सिफारिश गर्ने निर्णय सच्याउनुपर्ने प्रस्ताव ओलीविरोधी पक्षले राख्दैछ । डा. युवराज खतिवडा, लोकदर्शन रेग्मीलगायतलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिश र नयाँ मन्त्री नियुक्तिको निर्णय सच्याउनुपर्ने मुख्य प्रस्तावका अलावा अन्य प्रस्ताव पनि तयार गरिएको छ ।

पार्टीमा छलफल नगरी ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णयहरु गरेको भन्दै प्रचण्डलगायतका नेताहरु असन्तुष्ट छन् । उनीहरुले ओलीलाई हटाउने सम्मको रणनीति तय गरेको विषय चर्चामा छ । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने स्पष्ट पार्दै आएका छन् । ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप प्रचण्डमाथि लगाएका छन् । तर, माधवकुमार नेपालले ओलीसँगको भेटमा पार्टीलाई एकतावद्ध गर्न सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । ओलीले पनि सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठन गरेर सहमति गर्ने प्रस्ताव ल्याउने बुझिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार