सहकारीहरूलाई पुस मसान्तभित्र साधारणसभा गरिसक्न निर्देशन !



काठमाडौं : काठमाडौं महानगरपालिकाको सहकारी विभागले आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरूलाई निर्देशन दिएको छ। काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिएको हो। सहकारीहरूले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्‍याएर मात्र साधारणसभा गर्नुपर्नेछ। यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरूमा पर्याप्त छलफल गराउनुपर्छ। यसैगरी, यस्ता समितिहरूको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरूकाबीच निर्वाचन गराउनुपर्ने कार्यविधिमा उल्लेख छ।

सहकारीका सदस्यहरूको भूमिकालाई साधारणसभामा सक्रिय बनाउन र वित्तीय अनुशासनलाई मर्यादित बनाउन साधारणसभाका लागि आग्रह गरेको महानगरपालिकाको सहकारी विभागका उपनिर्देशक सुमन अधिकारीले बताए। उनले भने,‘हामीले साधारणसभामा पालना गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख गर्नुपर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं। यसले सूचना संकलनमा एकरूपता कायम हुनेछ।’

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार