
काठमाडाैँ, २३ कार्तिक । पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार ७० वर्षीय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको हाे । लामाकाे दुवै मृगौलाले काम गर्न छाडेपछि विगत २ वर्षदेखि नियमित रुपमा डायलाइसिस गर्दै आइरहेका थिए । यसपालि निमाेनिया समेत भएपछि गत सोमबार उनलाई पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नदेखिएपछि बिहीबारदेखि लामालाई भ्यान्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो । तर आइतबार उनकाे निधन भयाे ।
काेराेनाकाे जस्ताे लक्षण समेत देखिए पनि चार पटक परीक्षण गर्दा पनि नेगेटिभ देखिएकाे परिवारका सदस्यले बताएका छन् । यद्यपि कोरोना महामारीका कारण समयमै मृर्गाैलाकाे डायलाइसिस गर्न समस्या भएको उनीहरूकाे भनाइ छ । लामा विसं २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा सांसद निर्वाचित भएका थिए । त्यसपछि २०६२-०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए ।