
काठमाडौं, २० कार्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिएको छ । सेनाध्यक्ष नरवणेलाई आज बिहान सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ बुधबार यहाँ आइपुग्नुभएको हो । सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा समेत रोप्नुभयो । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता समेत सुरू भएको छ ।
यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुुभएको थियो । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनु भएको हो । दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ । त्यसपछि नरवणेको सम्मानमा आज नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।