
एजेन्सी, २० कात्तिक । अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना अधिकांश राज्यको सकिएको छ । यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ । हालसम्मको नतिजाका आधारमा बाइडनले वर्तमान राष्ट्रपति समेत रहेका ट्रम्पलाई पछि पारेका छन् । बाइडनले २६४ इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । अब बाइडनलाई जितकाे लागि ६ इलेक्टोरल मत भए पुग्छ । अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ।
जितका लागि निकै महत्वपूर्ण मानिएका राज्यहरुको मत गणना जारी छ । यद्यपि बाइडनले आफ्नो जित स्पष्ट भइसकेको बताएका छन् । तर ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, ‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।’ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्ने पनि उनले बताए ।
कसैले सत्ता हत्याउन नसक्ने बरु जनताले सुम्पिने उल्लेख गर्दै बाइडनले भने “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।” उनले सबै अमेरिकीको एकतामा पनि जोड दिएका छन् ।‘हामीले जितेमा राता र नीला राज्यहरु हुने छैनन्, संयुक्त राज्य अमेरिका मात्र हुनेछ,’ उनले भने । अमेरिकाको राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले भने पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण पेश गरेका छैनन् । उनले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन् । पछिल्लो पटक सामाजिक सञ्जालमा एक ट्वीट गर्दै ट्रम्पले आफ्ना वकीलहरुले मुद्दा हाल्नका लागि सोधिरहेको तर के गर्ने होला भन्दै तुलनात्मक रुपमा नरम अभिव्यक्तिका साथ अमेरिकीहरुको राय मागेका छन् ।
चुनावमा हरेक राज्यको कम्तिमा दुई जना इलेक्टोरल प्रतिनिधि छानिन्छन् । तर जनसंख्याका आधारमा यस्तो प्रतिनिधि छानिने हुनाले हरेक राज्य अनुसार प्रतिनिधि संख्या फरक रहेको छ । सबभन्दा बढी इलेक्टोरल प्रतिनिधि रहेको क्यालिफोर्नियामा ५५ जना प्रतिनिधि रहेका छन् । जसमा बाइडनले बाजी मारेका छन् । त्यस्तै बढी प्रतिनिधि रहेका टेक्सस र फ्लोरिडामा भने ट्रम्पले जित हात पारेका छन्। टेक्ससमा ३८ इलेक्टोरल कलेज प्रतिनिधि सिट रहेको छ भने फ्लोरिडामा २९ प्रतिनिधि सिट रहेको छ।
Our lawyers have asked for “meaningful access”, but what good does that do? The damage has already been done to the integrity of our system, and to the Presidential Election itself. This is what should be discussed!
— Donald J. Trump (@realDonaldTrump) November 4, 2020