
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्रीले बालुवाटारमा भेटेको विषयले नेकपा फुटउन्मुख भएको चर्चा चलिरहेको बेला बालुवाटारमा एक नयाँ खबरले तरङ्ग ल्याएको छ ।नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दुई छोरीहरु रेणु र गंगा दाहाललाई राजनीतिक भेटघाटका लागि दिल्ली पठाएको खबर बालुवाटार पुगेको हो । उनीहरु काकडभिट्टा नाका हुँदै बागडुगुराबाट दिल्ली पुगेर नेपाल फर्किएको खबर सुरक्षा स्रोतले बालुवाटार पुर्याएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप खबर ल्याउन आफू निकटस्थहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
उनीहरु दिल्ली पुगेर एकादशीको दिन नेपाल फर्किएको खबर बालुवाटार पुगेको हो ।नेकपा संस्थापन पक्षविरुद्ध कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याउने प्रस्ताव नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापाले अस्वीकार गरेको खबर आइतबार बाहिरिएको छ । तर, प्रचण्डले सोही तयारीका लागि छोरीलाई दिल्ली पठाएको हुनसक्ने बालुवाटारको निष्कर्ष छ ।बालुवाटारमा नेतृद्वय दिल्ली पुगेर एकादशीमा नेपाल फर्किएको खबर आए पनि उनीहरुले विजयादशमीकै दिन पिता प्रचण्डको हातबाट टिका लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।