
काठमाडौँ, १७ कार्तिक । कोरोना महामारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानबाट रोकिएका १ लाख १५ हजार नेपाली श्रमिकले लगानी गरेको झन्डै ६ अर्ब रुपैयाँ फसेको छ । उनीहरू गन्तव्य देशमा जानेबारे अझै टुंगो छैन । चैत पहिलो सातासम्म उड्ने तयारीमा रहेका उनीहरूको वैदेशिक रोजगारीको लागत शुल्कबापतको लगानी फसेको हो । एक जना श्रमिकको सरदर ५० हजार रुपैयाँ फसेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार वैदेशिक रोजगार विभागबाट झन्डै तीन लाख जनाको पूर्वश्रमस्वीकृति निस्किएको थियो । ‘पूर्वश्रमस्वीकृति लिएर उनीहरूको अन्तर्वार्ता चलिरहेको थियो, एक लाख १५ हजार जना त उड्ने तयारीमै थिए,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले कान्तिपुरसँग भने, ‘अन्तिम श्रमस्वीकृति निस्किएकाहरू पनि चैतयता उड्न पाएका छैनन् ।’
कतिपय श्रमिकले रोजगारीको भिसा लाग्नुअघि नै म्यानपावर कम्पनीलाई आधा भुक्तानी दिइसकेका छन् । भिसा आइसकेकाले भने पूरा भुक्तानी दिइसकेका छैनन् । ‘म कतारमा कफी बनाउने काममा जाने टुंगो लागिसकेको थियो, महिनाको १८ सय रियाल तलब पाउने भनेपछि फागुन अन्तिम साता मागेको मध्ये ८० हजार रुपैयाँ म्यानपावरलाई दिएँ,’ धादिङकी रीता अधिकारीले भनिन्, ‘म्यानपावरलाई कहिले जाने भनेर सोध्दा कम्पनीबाट जवाफ आएको छैन भन्छ । म्यानपावर हाम्रो केही गल्ती छैन, सबै लगानी फसेर बसेको छ भनिरहेको छ । पैसा कसरी उठाउने भन्ने चिन्ता छ ।’ उनले फागुनदेखि साहुलाई ब्याज तिर्दै आइरहेको बताइन् । याे खबर कान्तिपुर दैनिकमा छ।