पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।
पुष्पलाल श्रेष्ठ र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पारे । “सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौँ,” उनले भने, “दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।” “माक्र्सवाद विषयवस्तुको ग्रन्थ होइन समाजवाद हो, यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ”, विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउँदै उनले भने, “अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।”
संसद्मा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको प्रधानमन्त्रीले बताए । “हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौँ, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ,” प्रधानमन्त्री ओलीले भने, “जनताले महसुस गर्न काम गरेका छौँ, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो ।”