सत्तारुढ नेकपा फुटतर्फ उन्मुख भयो : महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल !



काठमाडौं, १६ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महसचिव विष्णु प्रसाद पौडेलले पार्टी फूटतर्फ उन्मुख भएको बताउनुभएको छ । महासचिव पौडेलले आइतबार (आज) ट्वीट गर्दै पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएको समयमा नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताउनु भएको हो । दुवै अध्यक्षको सहमतिमा केही दिन अगाडि मात्रै अर्थमन्त्रीको समेत जिम्मा पाउनुभएको महासचिव पौडेलले ट्वीटमार्फत् एकताका लागि योगदन गर्नसमेत सबैसँग अपील गर्नु भएको छ ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामू गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’ गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेश विवाद र ‘रअ’का प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ । पछिल्लो विवादलाई लिएर प्रधानमन्त्री ओलीले आइतबार (आज) बिहान आफू निकट नेताहरुसँग बालुवाटारमा परामर्श गर्नुभएको थियो । अध्यक्षद्वय ओली र दाहालबीच ११ दिनपछि शनिबार (हिजो) भेट भएको थियो, जहाँ दाहालले सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार