ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन भद्रगोल, अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब



ललितपुर, १६ कार्तिक । राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागले ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब दिन थालेको छ । ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम स्थगित भएपछि सोही जिल्लाका लागि नियुक्ति पाएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा जान अप्रत्यक्ष दबाब दिन थालेको हो । तर दर्ता अपरेटरहरुले राजधानीसँग जोडिएको जिल्लामै विवरण संकलन कार्य भद्रगोल भएको भन्दै सिन्धुलीमा गएर काम गर्न रुचि देखाएका छैनन् ।

दर्ता अपरेटरहरुले विवरण संकलनका लागि व्यवस्थापकीय जिम्मेवारी मिलाउने काममा विभाग र प्रशासन कार्यालय गम्भीर नभएको आरोपसमेत लगाउँदै आएका छन् । उनीहरुले यस्तो अवस्था र त्यसमाथि कोरोना महामारीको बेला सिन्धुलीमा गएर कसरी काम गर्ने भन्ने प्रश्न विभाग समक्ष तेस्याउँदै आएका छन् । विभाग र दर्ता अपरेटरहरुबीच उत्पन्न असमझदारी विभाग र जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म सबैलाई चित्त बुझ्ने गरी समाधान गर्न नसकेकको पाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको सो विभागले हाल दर्ता अपरेटरहरुलाई अन्यत्र जिल्लामा खटाउने निर्णय गरेको निर्देशक विष्णुहरि उपाध्यायले जानकारी दिनुभयो । निर्देशक उपाध्यायले विवरण संकलन स्थगित गर्ने निर्णय गरेसँगै विभागले आ–आफ्नो वडाहरुमा राखिएका ल्यापटप, प्रिन्टर, स्क्यानर, आइरिस (आँखाको नानीको फोटो खिच्ने उपकरण), मर्फो (आंैलाको छाप स्क्यानिङ गर्ने उपकरण), क्यामरालगायत विभिन्न उपकरण फिर्ता गर्न विभिन्न स्थानीय तहलाई पत्राचार गरेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार