नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या कति ? तथ्यांकै गलत



काठमाडौँ, १५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । सबै संक्रमित शव सेनाले व्यवस्थापन गर्ने गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिए । ‘यसअघि हामीले शव व्यवस्थापनको तथ्यांक सार्वजनिक गर्दा करिब दुई सय हाराहारीले मन्त्रालय र हाम्रो संख्या मेल खाएको थिएन । त्यसपछि सीसीएमसीले तथ्यांक रुजु गर्दै छ,’ उनले भने, ‘सबै रुजु भइसकेपछि मात्रै औपचारिक तथ्यांक बताउन मिल्छ ।’

प्रवक्ता पौडेलले सेनाको पूर्वी पृतनादेखि सुदूरपश्चिम पृतनासम्मले गरेको होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापनको तथ्यांक भने उपलब्ध गराएका छन् । उनका अनुसार कात्तिक १२ गतेसम्म सेनाले होम आइसोलेसनमा मृत्यु भएका ३५ महिला र ७१ पुरुष गरेर १ सय ६ जनाको शव व्यवस्थापन गरेको छ । उपत्यका पृतनाले मात्रै १० महिला र २० पुरुष गरी ३० जनाको शव व्यवस्थापन गरिसकेको छ । असोज ३० सम्म कोरोनाले मृत्यु भएका ८ सय ८९ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको थियो । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार