मुकेश हत्या प्रकरण : मुख्य योजनाकार भनिएका राजकुमारविरुद्ध मुद्दा दर्ता



वीरगञ्ज १३ कात्तिक । मुकेश चौरसियाको हत्यामा मुख्य योजनाकार भनिएका पूर्व संविधान सभा सदस्य एवम् तत्कालिन एमालेका तथा नेकपाका नेता राजकुमार गुप्ताविरुद्ध सरकारी वकिल र्कायालय पर्साको पत्र अनुसार मुद्दा दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा असोज ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका विन्दवासीनी गाउँपालिका वडा नं १ बहुअर्वाभाठाका ३७ वर्षीय मुकेश चौरसियाको मृत्यु भएको थियो ।चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्षका उम्मेदवार थिए । उनी पार्टीको जिल्ला कमिटीका सदस्य तथा गाउँपालिका कमिटीका सचिव समेत थिए। वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका उनको असोज ७ गते बिहान मृत्यु भयो ।

विगत सात दिनदेखि र्पूर्व सांसद राज कुमार गुप्ताको नाम जोडेर मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मृतक चौरसियाका भाई महेश चौरसियाले पर्सा जिल्ला सरकारी वकिल मार्फत मुद्दा दर्ता गराएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् ।सपथ ग्रहणमा आफूलाई नसमेटीएको पक्षले विवाद गर्दा झडपमा परेर मुकेश घाइते भएका थिए । मुकेशको मृत्युपश्चात उनका परिवारका सदस्यले राजकुमार गुप्तासहित ११ जनाविरुद्ध किटानी जाहेरी लिएर गएपनि प्रहरीले उनीहरुको मुद्दा दर्ता भने गरेको थिएन ।

गुप्ता कार्यक्रममा उपस्थित नभएको कारण उनीविरुद्ध मुद्दा दर्ता गर्न नमिल्ने पर्सा प्रहरीले बताउँदै आएको थियो। नेकपाको एउटा पक्षले ६ असोजमा गाउँपालिकाको वडा नम्बर ५ प्रसौनीभाठा गाउँपालिका कमिटीकोलागि शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको थियो ।कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफूलाई नासमेटिएको भन्दै विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका आठ जना व्यक्ति घाइते भएका थिए । प्रहरीले झडपमा रहेका ३ जना व्यक्तिलाई हिरासतमा समेत राखी अनुसन्धान गरी रहेको छ । आज मुकेशको मृत्यु भएको सातौँ दिन सरकारी वकिलको कार्यालय मार्फत गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको पीडित पक्षले जनाएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार