गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो



काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कमिसन डिलको अडियो सार्वजनिक भएपछि फागुन ८ मा पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले भोलिपल्ट बिहानै ट्वीटरमा महाशिवरात्रीको शुभकामना दिए। शुभकामना पोस्ट् हुनासाथ उनीमाथि यसरी गाली र आक्रोश बर्सियो, सम्भवतः उनले पनि अनुमान गरेका थिएनन्। उनलाई मेन्सन गरेर झन्डै एक हजारले कडा प्रतिक्रिया जनाएका छन्।

बाँस्कोटाले दिएको शुभकामना सामान्य छ। उनले नराम्रो लेखेका छैनन् तर केही अप्रिय र असभ्य शैलीमा पनि प्रहार भएको छ। प्रतिक्रिया पढ्दा व्यक्तिगत रूपमा उनलाई नमीठो पनि लाग्यो होला। मन्त्री पदमा रहँदा बाँस्कोटाका बोली–व्यवहार निकै उत्ताउला र अस्वाभाविक थिए, उनले प्रदर्शन गरेको त्यही अहंकार, असभ्यता र असहष्णिुताका प्रतिक्रिया वा परिणामका रूपमा लिन सकिन्छ यसलाई। उनको बोली–व्यवहारबाट विरोधी मात्र होइन, आम नागरिक पनि कतिसम्म आजित र आक्रोशित रहेछन् भन्ने कुरा यसले देखाउँछ।

शुभकामना पोस्ट्मा बाँस्कोटामाथि भएको आम प्रहारले नागरिक कति सूचित र जागरुक छन् भन्ने पनि प्रमाण पनि दिएको छ। अहिले नागरिक स्मार्ट छन्। नागरिकलाई कसैले उल्लु वा भेंडा ठानेको छ भने त्यो भ्रम मात्र होइन, भयानक भूल हुनेछ। बाँस्कोटाका हकमा त्यो सावित भएको छ। नागरिकले सूक्ष्मरूपमा हरेक कुराको अवलोकन गरिरहेका हुन्छन्। पदमा रहँदा सार्वजनिक पात्रहरूले गरेका बद्मासी र हरेक बोली–व्यवहारका एकएक हिसाब नागरिकले राखेका हुन्छन्।

पदमा रहँदा बाँस्कोटाले कसैलाई टेरेनन्स मानेनन् र गनेनन्। हुँदाहुँदा उनले नागरिकलाई समेत हेप्ने कोसिस गरे। कतिसम्म मैमत्ता भए भने मानौं उनी कहिल्यै त्यो कुर्सीबाट ओर्लिनु पर्दैन। बेलाबेलामा प्रधामन्त्री केपी ओलीले दिएको धाप र स्याबासीले उनको खुट्टाले धरातल छाडिसकेको थियो। अन्ततः राजनीतिमा उनको अस्वाभाविक उदय र यात्रा दुर्घटनामा परेको छ।

सेक्युरिटी प्रेस खरिद प्रकरण ७० करोडको कमिसन अडियो सार्वजनिक भएपछि अहिले मुलुक त्यही प्रकरणले तरंगित छ। काठमाडौंको ‘एलिट क्लास’ देखि गाउँघरको ‘चिया गफ’ मा हटकेक भनेको छ बाँस्कोटाको कमिसन अडियो। नेकपाभित्रको आन्तरिक जीवनमा समेत यसले हलचलै ल्याइदिएको छ। प्रधानमन्त्री केपी ओलीले विशेष रूपमा बचाउ र प्रशंसा गर्दै आएका सरकारका प्रभावशाली पात्रको बहिर्गमन र बद्नामीले समग्र सरकारको छविमाथि पनि धक्का लागेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताका पक्षमा प्रधामन्त्रीले व्यक्त गर्दै आएका प्रतिबद्धतालाई नागरिकले पत्याउने आधार अब कमजोर भइसकेको छ। नागरिक स्तरबाट पनि सरकारको निष्ठा र नियतमाथि प्रश्नहरूको वर्षा भएको छ।

अडियो सार्वजनिक भएजस्तै कमिसन डिलको भएको हो कि होइन, कति आर्थिक चलखेल भयो, राज्यलाई कति नोक्सानी भयो ? यसको छानबिन र कारबाही सम्बन्धित निकायले भोलि गर्ला नै। तर त्योभन्दा डरलाग्दो पक्ष योसँग जोडिएको संगठित नियत हो। एउटा खरिद डिलमा ७० करोडको कमिसनको चक्कर हुन्छ भने अरू कति खरिद तथा कारोबारमा कुन हदसम्मको चलखेल हुन्छ ? अहिले आमस्तरबाट उठाइएको प्रश्न हो यो। अहिले एकजना मन्त्रीको कमिसन डिलको अडियो मात्र सार्वजनिक भयो। त्यो पनि सेटिङ र डिल नमिलेपछि बाहिर आएको हो। सेटिङ र डिल मिलेका कमिसन र घोटलाहरू अझै पनि रहस्यको गर्भमा छन् होला ? अब अनुसन्धानको जिम्मा लिएका निकायहरूले त्यतातिर खोतल्नुपर्ने र खन्नुपर्ने चुनौती छ।

अडियो प्रकरण सार्वजनिक भएपछि गोकुलले पदबाट राजीनामा दिएका छन्। छानबिनलाई सघाउन राजीनामा दिनु सकारात्मक नै हो। अहिले उनी छानबिनको घेरामा छन्। अख्तियार दुरुपयोग अनसुन्धान आयोगले पनि यसमा अध्ययन थालेको अन्नपूर्ण पोष्ट्ले छापेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार