सामाजिक तथा भौतिक दुरी कायम गरेर दशैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं, ९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै सामाजिक तथा भाैतिक दुर कायम गरेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । ‘बडादशैँ २०७७ काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु’ – उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले चाडका बेला भीडभाड हुनसक्ने भएकाले नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै दशैँ मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुने भएको उल्लेख गर्दै विजयदशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोस र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बडादशैँले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्नेमा विश्वास बिस्वास गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार