आदरणीय राष्ट्रपतिज्यु,
म हजुरकै देशकी हजुरजस्तै महिला हुँ । सायद हजुरबाट अदृश्य छु, त्यसैले देख्नुभएको छैन मेरा भोगाईहरु । या सायद हजुरको भवनको ठुलो पर्खालले छेक्दो हो मेरो सानो शहर, जहाँ म हरेक दिन निर्धक्क बाँच्नकै लागि संघर्ष गरिरहेकी छु । समाजमा हामीजस्तालाइ बाँच्नु पनि त्रासमय भइरहेकाे छ । सायद हजुरको महँगो चिल्लाे गाडी नपुग्दो हो म सधैँ हिँड्ने ती डरलाग्दा गल्लीहरुमा, जहाँ ब्वाँसाहरू मेरो शरीरको स्वाद लिन भनी ढुकेर बस्दछन् । नपुग्दो हो हजुरकाे कालाे चश्माभित्रका नजरहरु मेरो घरको भित्ताभित्र, जहाँ म आफ्नै दाजु-भाइ र बाबासँगै डराएर बसेकी छु । सायद नपुग्दो हो मजस्ता हजारौं छोरीहरू चिच्याएको करूण क्रन्दन हजुरकाे दरबारका झ्याल-ढोकाबाट भित्र ।
राष्ट्रपति ज्यू,
बिन्ती ! एकचोटी झ्यालढोका खोलेर हेर्नुहाेस् । कान खोलेर सुन्नुहोस् । गाडीकाे कालाे शिशा खाेलेर हेर्नुहोस्- गल्लीगल्लीमा लुटिएकी निर्मलाहरूलाई । हृदयमा मनन गर्नुहाेस्- मन्दिरभित्रै मारिएकी सम्झनाहरूका चिच्याहटलाई । एकफेर कदम उचालेर त हेर्नुहोस् यी पापीहरुको कदम आफै पछि सर्नेछ । बिन्ती ! मलाई निर्धक्कले हिँड्न् सक्ने बाटो बनाइदिनुहोस् याे देशमा । या त घोषणा गरिदिनुहोस् कि यो देशमा अब छोरीहरू जन्माउन मनाही छ !
उही
हजुरको देशकी हजुरजस्तै महिला ।