गोकुल बाँस्कोटाको सम्पत्ति ४ कोठे घर, १५ लाख ऋण !



काठमाडौँ । करोडौँको कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सम्पत्ति कति होला ? धेरैलाई उनको सम्पत्ति विवरणबारे जान्न मन होला । धेरैलाई लाग्न सक्छ उनी सम्पन्न परिवारमा जन्मिए र सम्पन्न आर्थिक हैसियत छ । यदि तपाईँले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत हुनेछ । उनले मन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरणलाई हेर्ने हो भने उनको आर्थिक हैसियत सामान्य नै देखिन्छ । सम्पत्तिको नाममा भक्तपुरमा ४ कोठे घर, काभ्रेमा केही जग्गा, सहकारीमा सेयर र केही नगद देखिन्छ ।

यस्तै १५ लाख रुपैयाँ ऋण समेत देखिन्छ । उनै गोकुल बाँस्कोटा नेपालमै स्थापना गर्नेगरी रेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एक नेपाली एजेन्डसँग कमिसनको डिल गरेको आरोपमा सिंहदरबारबाट बाहिरिए । सामान्य आर्थिक हैसियत भएका उनले मन्त्री हुँदा अकुत कमाएको भन्दै छानबिन हुनुपर्ने आवाज उठेको छ । भलै अख्तियारले उनीमाथि छानबिन थालेको बताइएको छ । तत्कालिन एमाले निकट पत्रिकामा लामो समय आवद्ध भएका उनी पत्रकारिता हुँदै राजनीतिमा छलाङ मारेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र उनी ओलीकै आशिर्वादमा सांसदको टिकट पाएर सांसद हुँदै मन्त्री सम्म बन्न सफल भएका हुन् । राज्यमन्त्रीबाट ओली सरकारमा प्रवेश पाएका उनी त्यसको १४ महिनापछि मन्त्री बन्न सफल भएका थिए । यसो त केही अघि उनले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका थिए ।

बाँस्कोटाको सम्पत्ति विवरण
उनले मन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको आर्थिक विवरणअनुसार उनको तारादेवी बास्कोटा (मानन्धर) को नाममा भक्तपुरको मध्यपुर ठिमीमा जग्गा र त्यही जग्गामा ४ कोठे एक तले घर रहेको छ । जुन पैत्रिक सम्पत्ति बेच्दा प्राप्त भएको रकम र स्वआचार्जनबाट जोडेका हुन् । यसबाहेक उनको काभ्रेमा पाखोबारीसहितको जग्गा रहेको छ । काभ्रेको बनेपामा ३ लाखमा ४ आना जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै तारादेवीको नामा काभ्रेको देवभूमिमा २ रोपनी पाखोबारी रहेको छ भने बुबा हरिप्रसाद बाँस्कोटाको नाममा नयाँ गाउँदेउपुरमापैत्रिक सम्पत्ति रहेको छ। यस्तै १७ तोला सुन र ६० तोला चाँदी रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै ब्राइट बचत तथा ऋण सहकारी संस्थामा आफ्नै नाममा ९९ हजार ९४१ रुपैयाँ र इन्भेस्टमेन्ट बैंकमा १ लाख ९ हजार ९४३ रुपैयाँ, तारादेवीको नाममा एक सहकारीमा ३ लाख ३८ हजार ३२६ रुपैयाँ र कुमरी बैंकमा ११ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसबाहेक समिर बाँस्कोटाको नाममा नबिल बैंकमा १५ लाख र शुलभ बाँस्कोटाको नाममा इन्भेस्टमेन्ट बैंकमा १६ हजार १०० रुपैयाँ रहेको उल्लेख छ । त्यसमा पनि छोरा समिरलाई विदेश पठाउनको लागि १५ लाख कुवेर सापकोटा र विष्णु खनालसँग १५ लाख ऋण लिएको बाँस्कोटाको भनाइ छ । यस्तै प्राइम बचत तथा ऋण सहकारीमा गोकुलकै नाममा १ हजार कित्ता सेयर रहेको देखिएको छ । सवारी साधन केहीपनि नरहेको, कृषिधन तथा पशुधन केही पनि नभएको बाँस्कोटाले बताएका छन् भने घरमा सामसुङको टिभी रहेको बताएका छन् ।
आइफोन एउटा र ल्यापटप ३ वटा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । रोचक त के छ भने उनले सामसुङको आइफोन भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणमा सामसुङको आइफोन बताएपछि सामाजिक सञ्जालमा व्यङ्ग्यमिश्रित टिकाटिप्पणी समेत भएका थिए । source सफल खबर

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार