
काठमाडौं, १० फागुन । सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय सम्हाल्दै आएका गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिइसकेका छन् । ७० करोड कमिशन राख्दा आफ्नो भागमा कति पर्छ ? भन्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक हुँदा पनि बाँस्कोटाले ‘खाएको विष मात्र लाग्ने’ भन्दै हाक्का–हाक्की सञ्चारमाध्यममा प्रतिक्रिया दिइरहेका थिए । भ्रष्टाचार गर्न लाग्दाको कुराकानी देशभर फैलिसक्दा पनि बाँस्कोटामा अझै त्यो आँट बाँकी रहनुको पछाडि प्रधानमन्त्रीको साथ रहेको प्रष्ट दखिएको छ ।
बाँस्कोटासँग कमिशनको डिल गर्न गएका स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले पत्रकार कृष्ण ज्ञवालीसँगको कुराकानीमा आफूले एक महिना अघि नै उक्त अडियो प्रधानमन्त्रीलाई सुनाएको बताएका छन् । मिश्रले एक महिना अघिनै उक्त अडियो प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई सुनाइसकेको बताएका छन् । एक महिना अघि मोलमोलाई गरेको अडियो सुनेका प्रधानमन्त्री ओलीले बाँसकोटलाई कारबाही गर्न भन्दा पनि उनलाई काखी च्याप्न तर्फ लागे । फागुन ५ गते काभ्रेको धुलिखेल नगरपालिकाको ३४ औँ स्थापन दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँस्कोटाको मुक्तकण्ठले तारिफ गरे ।
यदि स्वीस कम्पनीका एजेन्ट मिश्रले साँच्चै प्रधानमन्त्रीलाई उक्त अडियो सुनाएका थिए, भने प्रधानमन्त्री ओलीले किन एक्शन लिएनन् ? उल्टो प्रधानमन्त्री ओलीले सरकारका अन्य मन्त्री भन्दा गोकुल बाँसकोटालाई बढी जिम्मेवारी दिएका थिए । सूचना तथा सञ्चार प्रविधि र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिद बाहेक अन्य ६ ओटा प्रोजेक्टहरु थिए ।
जसलाई उनले आफ्नो तरिकाले सम्हाल्दै आएका थिए । यी बाहेक १९ अर्बको फोर–जी सेवा विस्तार कार्यक्रम, २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, १० अर्बको अप्टिकल फाइबर बिच्छ्याउने योजना, ५ अर्बको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, साढे ३ अर्बको विद्यालयमा कम्प्युटर ल्याब स्थापना कार्यक्रम, र ७ अर्बको हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट पु¥याउने कार्यक्रमको जिम्मेवारी लिएका थिए । यी सबै कार्यक्रमको लागत १ खर्ब बराबर छन् । लगभग २५ अर्बकोे एउटा प्रोजेक्टमा ७० करोडको मोलमोलाई गर्ने बास्कोटाले अन्य प्रोजेक्टरमा पनि कमिसन मागेनन् भन्न सकिदैन् ।