एमसीसी बाइबल होइन बुँदा संशोधन गर्न नमिल्ने : झलनाथ खनाल



काठमाडौं, १० फागुन । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव दिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व तीन सदस्यिय उक्त टोलीले अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाउँदै जस्ताको तस्तै संसदबाट उक्त सम्झौता पारित नै हुन नसक्ने उल्लेख गरेका हुन ।

नेपालको कानुनसँग बाझिने गरि गरिएको त्यस्तो सम्झौता प्रस्तुत आधारमा नै पारित हुन नसक्ने हुनाले केही बुदाँहरु सच्चाएर पारित गर्न सुझाव दिइएको कार्यदल संयोजक एवं नेकपा वरिष्ठ नेता खनालले अन्नपूर्ण अनलाइनलाई बताए। ‘यहाँ अनेक अफवा फैलाइएको छ । भएका सम्झौतामा बाझिएका विषय अमेरिकीलाई राखेर छलफल गरे समाधान हुन्छ,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘बाइबल हो र ? बुँदा नै परिवर्तन गर्न नहुने ? सन्धि सम्झौता विधिसंवत ढंगले सुधार गर्दै लैजान मिल्छ। हामीले सुधार गर्ने बुँदा केलाएर त्यसको विकल्प र उपायसहित सुझाव दिएका छौं।’ यसबारेमा अध्यक्षद्वयले अध्ययन गरेपछि सचिवालय हुँदै स्थायी कमिटी बैठकमा छलफल गरेर यहाँहरुलाई दुई÷तीन दिनभित्र जानकारी आउने पनि उनले प्रष्ट्याए।

अहिलेको अवस्थामा एमसीसी पारित गरिए संविधान र कानुनलाई सिरानी हाले हुन्छ भन्दै खनालले भने, ‘हामीले स्पष्ट कुरा गर्न सक्नुपर्छ। यस्ता सम्झौता गर्दा कर्मचारी र कूटनीतिज्ञले पनि अध्ययन गरेको हुनुपर्छ। एमसीसीको सम्झौतासँगै अन्य दर्जन बढि सहायक सम्झौता रहेकाले त्यसलाई अधिक सच्याउन पर्ने देखिन्छ। हामीले औंल्याएका विषयलाई हेरै स्पष्ट हुन्छ।’

यहाँ त सम्झौतामा परिवर्तन भए रद्द हुने के के भनेर हल्ला गराइएको भन्दै कार्यदल संयोजक खनालले भने, ‘सबै हल्ला वाइयात हुन। यो सहजै रद्द पनि हुँदैन र छलफल गरेर केही बाझिएका स्वार्थ रहेको विषय संसोधन गरेर पारित गर्न मिल्छ। यथास्थितीमा मिल्दैन, त्यही सुझाव दिएका छौं। यो सर्वसहमतिको सुझाव हो।’ सत्तारुढ दल नेकपाभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि नेकपा केन्द्रीय कमिटीले माघ १९ मा अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलाई १० दिनको समय दिएको त्यसपछि नपुगेको भन्दै १० दिन थप गर्दै परराष्ट्रबाट सबै कागजात मगाएर विस्तृत अध्ययन गरेको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार