
काठमाण्डौ – कोरोना भाइरसको संक्रमणबाट बच्न दक्षिण कोरियाले २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेको छ । दक्षिण कोरियाली डाइगु क्षेत्रका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गर्नुभएको हो । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गर्नुभयो । उहाँले कोरोनाविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गर्नुभएको छ ।
डाइगु नगर क्षेत्रमा बिहीबार मात्रै थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो । दक्षिण कोरियामा अहिलेसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ । कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सडक सुनसान हुनथालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । रासस
प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार