
काठमाडौं । विगतमा माओवादीले अरुको जग्गामा झण्डा गाडेको सुनिन्थ्यो । आइतबार दिउँसो काठमाडौंमा बहालवाला मन्त्रीले दलबलसहित गएर आलोकनगरस्थित बाग्मती किनारमा रहेको जग्गामा बोर्ड ठड्याइन् । मन्त्रीको शैली हेर्दा माओवादीबाट सरकारले केही सिकेजस्तो देखिन्थ्यो । फरकचाहिँ के देखियो भने माओवादीले अर्काको जग्गा कब्जा गरिसकेपछि प्रायः राति झण्डा गाड्थ्यो, व्यक्तिले हडपेको सरकारी जग्गाको सुरक्षा गर्ने भन्दै मैदानमा उत्रिएको मन्त्रीको टोलीले दिउँसै काठमाडौं महानगरपालिको आलोकनगरस्थित हनुमन्ते किनारा नजिकै रहेको जग्गा आफ्नो मातहत ल्याएको घोषणा गरेको छ ।
मन्त्रीको टोलीले नियन्त्रणमा लिएको जग्गामा टीन र फलामले बनेको बोर्ड ठड्याएको छ । सरकारले सो स्थानमा ‘सरकारी जग्गा’ लेखिएको कित्ता नम्बर र जग्गाको क्षेत्रफलसहितको बोर्ड टाँगेको छ । मन्त्री अर्यालसहितको टोलीले आलोक नगरसँगै सहयोगी मार्गमा ४ रोपनी र अनामनगरमा १४ आना २ पैसा जग्गामा बोर्ड राख्नै लाग्दा केही स्थानीयले आफूसँग लालपूर्जा रहेको दाबी पेश गरे ।