सांसद गोकर्ण विष्टले नेता-कार्यकर्तालाई भुँईमा बसालेर बृद्ध-बृद्धालाई कुर्सीमा बसाएपछि…



गुल्मी, ०३ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३ को हाडहाडेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु हुँदै थियो । सञ्चालकले वडा कमिटी अध्यक्ष यमबहादुर कुँवरलाई अध्यक्षताको आसन ग्रहण गराएपछि कार्यक्रममा उपस्थित पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद गोकर्ण बिष्टलाई आसन ग्रहण गराए । त्यसपछि प्रदेश कमिटी सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र बुद्धि जिसीलगाएतका जिल्लाका नेताहरुलाई आसन ग्रहण गराए ।

मौसम चिसो थियो, यसैबीच सांसद विष्टले अगाडि चिसो भुँईमा बसेका बृद्ध–बृद्धाहरुमा नजर डुलाए । कसैको खुट्टमा चप्पल नै थिएन भने कसैले फाटेका जुत्ता र चप्पल लगाएका थिए । जसमध्ये पनि करीब एक दर्जन बढी ७० बर्ष नाघेका बृद्ध–बृद्धाहरु चिसोले काँप्दै भुँईमा लौरोको आडमा बसिरहेका थिए । उक्त दृश्यलाई नियालेपछि सांसद बिष्ट मञ्चबाट जुरुक्क उठेर आफूसँगै बसेका नेताहरुलाई भने, ‘कमरेडहरु, गाह्रो मान्नु भएन ? यहाँहरु अगाडि भुँईमा गएर बस्नुहोस् । त्यहाँ बस्नुभएका बृद्ध–बृद्धा बा–आमाहरुलाई तपाईहरु बस्नुभएको कुर्सीमा ल्याएर बसाल्नुहोस् ।’

त्यसपछि सबै नेताहरु उठेर अगाडि भुँईमा बसेका सबै जेष्ठ नागरिकहरुलाई ल्याएर आफू बसेको कुर्सीमा बसाले, भने आफूहरु चाँहि भुँईमा गएर बसे । भुँईबाट मञ्चमा आएर कुर्सीमा बस्नेहरुमध्येका ८८ वर्षीय चन्द्रबहादुर बिकले पहिलो पटक नेताहहरुसँगै कुर्सीमा बस्न पाएको कुरा सुनाउँदै थिए । त्यस्तै आगामी बर्ष चौरासी पूजा गर्ने तयारीमा रहेको बताउने भिमबहादुर थापा पञ्चायतकालको वडा सदस्य भएता पनि पछिल्लो समय कसैले वास्ता नगर्ने बताए । साथै वर्षौंपछि मञ्चमा बस्न पाएको बताउँदै खुसी व्यक्त गरे ।

आफ्नो कार्यकर्तालाई सम्बोधन गर्दै नेता बिष्टले भने, ‘जेष्ठ नागरिकहरु हामी सबैका ईतिहास हुन् । इतिहासको हामी सबैले सम्मान गर्नुपर्छ । जेष्ठ नागरिकहरु विरामी अवस्थामा भेटाउनुहुन्छ भने हरेक कमरेडहरुले अस्पताल पु-याउनुहोस् । दुखसुख, खानपिन र स्वास्थ्य अवस्था बुझ्नुहोस् । स्यहार–सुसारमा ध्यान दिनुहोस् ।’ कार्यक्रमको अन्त्यमा तीनै जेष्ठ नागरिकसँग बेसेर नेता बिष्टले सामूहिक तस्वीर समेत खिचाएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते शनिवार