जुगल स्कूलको अभिभावक दिवस मनाइयो



२०७६ माघ २५ गते, ललितपुर| व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको जुगल स्कुलको अभिभावक दिवस माघ २५ गते सम्पन्न भएको छ । राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक एवम् वरिष्ठ बाल साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यता र विद्यालयका प्रिन्सिपल ईश्वर के.सी.को सभाध्यक्षतामा सम्पन्न समारोहमा प्याब्सन ललितपुरका अध्यक्ष राधेकृष्ण महर्जन र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको विशेष आतिथ्यता रहेको थियो ।

समारोहमा संगीतकार राजेश थापाको प्रशिक्षणमा विद्यार्थीहरुले गीत, बाद्यवादन तथा संगीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकहरुलाई गीत, नृत्य, संगीत र नाटक प्रस्तुत गरेर बालबालिकाहरुले प्रतिभा प्रस्फुटन तथा मनोरञ्जन प्रदान गरेर अभिभावक दिवस मनाइएको थियो । Play Group–नर्सरीदेखि कक्षा–१० सम्म अध्ययन हुने विद्यालयमा बालबालिकाहरुले विभिन्न किसिमका सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहँदा अभिभावकहरु मन प्रफुल्लित भएको बताएका थिए ।

बालबालिकाको प्रस्तुतिबाट प्रभावित भई प्रमुख अतिथि श्रेष्ठले सिकाइलाई व्यावहारिक पक्षमा जोड दिएकोमा जुगल स्कूल प्रशासन र शिक्षकहरुको प्रशंसा गर्नु भएको थियो । बालसाहित्यकार श्रेष्ठले विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । अभिभावकहरुले विद्यालयले सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको बिचार राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्याब्सन ललितपुरका अध्यक्ष राधेकृष्ण महर्जनले विद्यार्थी, अभिभावक र व्यवस्थापनको राम्रो सहकार्यमा मात्रै स्कुल राम्रो हुने उल्लेख गर्दै विद्यार्थीलाई लगनशील भएर पढ्न समेत सुझाव दिनु भएको थियो । उहाँले अभिभावकहरुले बालबालिकाहरुलाई माया, दया र भुल्नका लागि दिने गरेको मोबाइल फोन र टेलिभिजन सिरियलका साथै सामाजिक सञ्जालले गलत बाटोमा लाग्न प्रेरित गर्ने विष समान भएकोले सचेत रहन अभिभावकहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष महर्जनले जुगल स्कूलको शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलापले विश्व स्तरमा प्रतिस्पर्धी जनशक्ति विकासमा पु¥याएको प्रति खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल ईश्वर के.सी.ले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउनु भयो । उहाँले अभिभावकलाई इंगित गर्दै, ’कलिला मुना हामीलाई सुम्पिनु भएको छ, हामी ती मुनाहरुलाई सुगन्धित फूल बनाउन कटिवद्ध रहनेछौंँ । त्यसका लागि सदैव स्कुल, विद्यार्थी र अभिभावको साथ र सहयोगको खाँचो परिरहनेछ ।’

प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते शनिवार