
युद्धमा होमिएका तत्कालीन माओवादीका लडाकूहरूमध्ये केही ‘साधु बाबा’ बनेका खबरहरू सार्वजनिक भइरहेका छन् । देशैभर २५औं जनयुद्ध दिवस मनाइरहँदा कुनैबेला आध्यात्मिक अस्तित्वलाई अस्वीकार गरेका केही लडाकुहरू धमाधम बाबाका रूपमा बाहिर आउनु निश्चय पनि संयोग मात्र होइन । त्यस्तै एकजना तत्कालीन प्लाटुन कमान्डर रामपरीक्षण साफी अहिले कमरेड पहाडबाबाका रूपमा जीवन बिताइरहेका छन् । सेना समायोजनबाट चेक लिएर घर फर्केका लडाकु साफी अहिले बाबा बनेका हुन् ।
उनी पहिलोपटक २०७४ सालको चैतमा बाबाका रूपमा सार्वजनिक भएका थिए । त्यतिबेला लोकान्तरले उनको बारेमा पहिलोपटक समाचार प्रकाशित गरेको थियो । त्यतिबेला उनले आफूलाई रामानन्द ब्रम्हचारी साधुबाबा भनेर चिनाएका थिए । गत शनिवार एक राष्ट्रिय दैनिकले उनलाई पहाडबाबा भन्दै लामो स्टोरी प्रकाशित गरेको थियो । तत्कालीन नयाँ शक्तिकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमीले उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन् । त्यतिबेला प्रतिक्रिया दिँदै नेतृ यमीले परिवर्तनका लागि लडेका योद्धाको यो हाल हुनु लज्जाको विषय भएको बताएकी थिइन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा तत्कालीन जनयुद्धका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि जनयुद्ध लडेका एकाध व्यक्तिहरू साधु बन्दैमा नकारात्मक लिन नहुने टिप्पणी गरेका थिए । केही दिनअघि कान्तिपुर कन्क्लेभमा बोल्दै प्रचण्डले जनयुद्ध लडेका व्यक्तिहरू उपराष्ट्रपति पनि भएको यथार्थ नबिर्सन आग्रह गरे ।
जनयुद्धमा होमिएका कतिपय लडाकुहरूको जीवन अहिले पनि कष्टकर छ । कतिपयले गोली र बमको छर्रा शरीरमा लिएर हिँडिरहेका छन् । कतिपयले उपचारका लागि रकम अभाव भएको गुनासो गरिरहेका छन् । जनयुद्धबाट राजनीतिक उचाई प्राप्त गरेका नेकपा लगायत अन्य पार्टीमा छरिएर रहेका तत्कालीन माओवादी नेताहरूको जीवनशैली धनाड्य बनिसकेको छ ।
Source Lokaantar.com