७५ दिनपछि न्युजिल्याण्डले झार्‍यो कोरोना संक्रमण शून्यमा, आज मध्यरातदेखि लकडाउन खोल्ने



न्युजिल्याण्डमा कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा झरेको छ। त्यहाँको स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले सोमबार दिएको जानकारीअनुसार अन्तिम संक्रमितको पनि उपचार भइसकेको छ। अन्तिम संक्रमितको उपचार भएसँगै न्युजिल्याण्ड हाललाई कोरोना संक्रमणमुक्त देश बनेको छ। न्यूजिल्याण्डमा पछिल्ला १७ दिनमा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन्। ‘फेब्रुअरी २८ पछि पहिलो पटक कुनै संक्रमित नहुनु भनेको हाम्रो यात्रामा महत्वपूर्ण छाप छाड्नु हो,’ब्लुमफिल्डले भने,’तर कोभिड-१९ विरूद्धको सतर्कता निरन्तर आवश्यक रहनेछ।’

न्यूजिल्याण्डले अहिले पनि नाका बन्द गरेको छ। विदेशमा रहेका आफ्ना नागरिक फर्किएमा फेरि संक्रमित थपिन सक्ने बताएको छ। विदेशबाट फर्किनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखिनेछ। विज्ञहरूका अनुसार न्यूजिल्याण्डले समयमै कडा लकडाउन गरेपछि कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको हो। अहिलेसम्म त्यहाँ एक हजार ५०० जनामा मात्रै संक्रमण देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन्। संक्रमित संख्या शून्यमा झरेसँगै प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले कोरोना भाइरसलाई रोक्न लगाइएका प्रतिबन्ध हटाउने घोषणा गरेकी छन्। सोमबार मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा गर्ने उनको भनाइ छ।

‘हामी सुरक्षित र मजबुद् अवस्थामा भए पनि अगाडिको बाटो कोभिड-१९ भन्दा पहिलाजस्तो सजिलो छैन तर हाम्रो दृढता र स्वास्थ्य क्षेत्रमा हामीले दिएको जोड अब आर्थिक पुनर्निर्माणका लागि उपयोगी हुनेछ,’ प्रधानमन्त्री अर्डेनले भनिन्। कोरोनाभाइरस न्यूनीकरण गर्न ७५ दिनअघि प्रधानमन्त्री आर्डेनले कडा लकडाउन घोषणा गरेकी थिइन्। चार चरणमा खुकुलो बनाउँदै गएको लकडाउनलाई अब अन्तिम चरणमा पुर्‍याउने उनले घोषणा गरेकी हुन्। लकडाउन खुकुलो बनाए पनि उनले अन्तर्राष्ट्रिय उडान भने स्थगित नै गर्ने बताएकी छिन्।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार