चुच्चेपाटी-चाबहिल-गौशाला सडक : लकडाउन अवधिको उपहार



काठमाडौं, २६ जेठ । लकडाउन खुलेपछि घरबाट बाहिर निस्कँदा काठमाडौंवासीले फरकपन अनुभव गर्न पाउने एउटा क्षेत्र सडक पनि बन्ने निश्चित छ । लडडाउनको अवधिमा काठमाडौंका धेरै सडकहरुको मर्मत-सम्भार गरिएका छन् । यसमध्ये सबभन्दा ठूलो उपलब्धि भने काठमाडौंको चुच्चेपाटी-चाबहिल-गौशाला खण्डको सडकमा देखिएको छ । ३-४ वर्षदेखि निरन्तर सास्तीको सडक बन्दै आएको चाबहिल चुच्चेपाटी-गौशाला सडकखण्डको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकाभित्रका अति व्यस्त मानिने मध्येको एक यो सडकलाई लिएर लामो समयसम्म विवाद र नाराबाजी समेत भए । काठमाडौं ठूलो हिस्साका जनताले धुवाँ, धुलो र हिलोमैलो भोगेको यो सडककाे नयाँ अनुहार अब कुनै अवरोध नआएको खण्डमा १५ दिनभित्रमै देख्न सकिनेछ ।

‘निरन्तरको संघर्षपछि बल्ल चुच्चेपाटी, चाबहिल, गौशाला सडक खण्डलाई हामी अन्तिम रुप दिँदैछौँ,’ सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपनिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले न्यूज २४ सँग भन्नुभयो, ‘अब कुनै अवरोध नभएमा १५ दिनभित्र यो सडक चिल्लै बनाइनेछ ।’ बैशाखको मध्यमा नै सक्ने लक्ष्य भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पाइपलाइन विस्तार तथा नेपाल विद्युत प्राधिकरणले ‘अन्डर ग्राउण्ड केबलिङ’को लागि समय माग्दा ढिलाइ भएको पनि प्रवक्ता सापकोटाले प्रष्ट पार्नुभयो ।’

खानेपानी लिमिटेडले आफ्नो काम सम्पन्न गरे पनि विद्युत प्राधिकरणको केही काम भने बाँकी रहेको पनि प्रवक्ता सापकोटोले बताउनुभयो । पछि गएर सडकमा कुनै तलमाथि नहोस् र पुनः सडक खनेर विरुप बनाउनुपर्ने स्थिति नआओस् भनेर नै सडक, खानेपानी र विद्युतले काम संगसंगै अगाडि बढाएको प्रष्टोक्ति पनि उहाँको छ । तीनवटै पक्षले काम सकेको भागमा सडक चिल्लाे र सुन्दर समेत देखिएको छ ।

पानी नपरेर निरन्तर घाम लागेमा अब काम खासै बाँकी नरहेको प्रवक्ता सापकोटाले न्यूज २४ लाई बताउनुभयो । विद्युतको काम सकिएपछि उहाँले केही भागमा पीच गर्न र केही ठाउँमा थप पीच गर्न बाँकी रहने हुनाले सडक विभागले मौसम र केही दिनको समयको साथ खोजेको पनि प्रवक्ता सापकोटाको भनाइ छ । गत बैशाखदेखि मर्मत थालिएको यो सडक लकडाउन अवधिको एउटा राम्रो सन्देश दिने सडक बन्ने भएको छ । सधैँ भत्केर धुलाे र हिलाे हुने खाल्डाखाल्डै भएकाे याे सकड नियमित प्रयोग गर्नेहरु बाहेक अन्यले प्रयोग गर्न समेत झन्झट मान्ने अवस्था उत्पन्न भएको थियो । बेलाबेला विदेशी पाहुना अाउँदा खाल्डा पुर्ने गरे पनि केही दिनमै भत्केर कुरूप हुन्थ्याे । अब भने यसकाे मुहार फेरिने भएकाे छ ।

कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा लकडाउनको अवधिमा काठमाडौंका सडकहरु मर्मत-सम्भार गर्ने प्रस्ताव स्वीकृत भएपछि याे सडक खण्डले पनि मुहार फेर्ने अवसर पाएको हो । बाँकी कार्य पूरा गर्न अहिले यो सडकको काम धमाधम भइरहेको छ । विद्युत प्राधिकरणले पनि ‘अण्डरग्राउण्ड केवलिङ’को कामलाई तीब्र बनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार