लकडाउन खुकुलो बनाउन तीनवटा मोडालिटी प्रस्ताव



काठमाडौँ, २५ जेठ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो ।

मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमक्ष ढाँचा पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव संयोजक रहेको सीसीएमसीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य, शान्ति सुरक्षा, आपूर्ति र सूचनासहित चार क्षेत्रमा काम गर्छ । जसमध्ये शान्ति सुरक्षाको क्षेत्रमा सेनालाई नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

लकडाउनलाई खुकुलो बनाउने विषय शान्ति सुरक्षाअन्तर्गत भएकाले सेनाले यसलाई मुख्य चासो दिएको हो । ‘यही ढाँचा ठीक हुन्छ भन्दा पनि हामीले तीन फरक मोडालिटी तयार पारेर बुझाएका छौं,’ सीसीएमसी स्रोतले भन्यो, ‘अब उनीहरूले यसलाई हेरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिमा पेस गर्नेछन् ।’

सीसीएमसीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंको नेतृत्वमा छलफल भएर तयार भएको तीन फरक मोडालिटीमध्ये पहिलोमा चरण–चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने भन्ने छ । यसमा अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक दुई सातामा परिवर्तन गर्दै जाने उल्लेख छ । यो मोडालिटीलाई सबैभन्दा पहिला सेनाले सीसीएमसीमा प्रस्ताव गरेको थियो । यसकाे विस्तृत खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार