राजा वीरेन्द्रको वंशनाश गरिएको त्यो दिन, १९ वर्ष बिते तर रहस्य अझै इतिहासकै गर्भमा



काठमाडाैँ, १९ जेठ । आजभन्दा ठीक १९ वर्षअघि आजकै दिन नेपालको इतिहासमा कालाे पाेतिएकाे थियाे । त्रासदीमय त्याे घटना ‘कालरात्रि’का रूपमा नेपाली इतिहासमा दर्ज छ । त्याे थियाे- लाेकप्रिय राजा वीरेन्द्र शाहकाे वंशनाश हुनेगरी रचिएकाे दरबार हत्याकाण्ड । १९ वर्ष बिते तर घटनाकाे रहस्य अझै इतिहासकै गर्भमा छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्याे त्रासदीमय घटना २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारमा घटाइएकाे थियाे । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएर एक जनप्रिय राजाकाे वंशनाश गरिएकाे थियाे ।

त्यस घटनामा गाेलीकाे सिकार भएका राजा वीरेन्द्रको साेही राति निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा दीपेन्द्रको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तर राजा ज्ञानेन्द्रकाे सत्ता धेरै समय टिकेन । राजा वीरेन्द्र लगायतकाे शवयात्रा समेत कर्फ्यु लगाइएपछि र सर्वसाधारणलाइ श्रद्धाञ्जली समेत अर्पण गर्न नदिएर हतारमै उनकाे दाहसंस्कार गरिएकाे लगायत हर्कतका कारण आम जनतामा शंका र आक्राेशकाे आगाे झन् दन्काइदिएकाे थियाे । तर पनि कर्फ्यू अवज्ञा गरेर जनताहरू घरका छत र सडकभरि राजा वीरन्द्रकाे शवयात्राका क्रममा देखिएका थिए ।

दरबार हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन । देशमा धेरै परिवर्तन र उथपुथल भए, दर्जनजति सरकार फेरिए । तर घटनाकाे रहस्य उक्काउन कसैले सकेन । अब न त प्रर्याप्त प्रमाण र तथ्य जाेगाइएका छन्, न हालसम्म जीवित याे घटनाका प्रत्यक्षदर्शीहरू नै बक फुटाउन चाहन्छन् ।

तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो । सो समितिले घटनासँग जोडिएका पात्रहरूको बयानलाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो । तर साे प्रतिवेदनप्रति आम जनताकाे विश्वास लागेन र घटना अहिले पनि शंकाकै घेरामा रहेकाे छ ।

पछि संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय पनि समेटेको थियाे । तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्र’ले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’ उल्लेख छ । तर यसमा पनि भरपर्दाे तथ्य नभएकाे भनेर जनताले पत्याउने अवस्था रहेन ।

हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रकाे निर्देशनमा घटना भएकाे त्रिभुवन सदनलाई भत्काउन लगाइएकाे थियाे । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनकाे पुनर्निर्माण गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो । अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएकाे छ । तर अबका सयाैँ वर्ष पनि याे हत्याकाण्डकाे रहस्य भने इतिहासकै गर्भमा तुहिएर जाने हाे कि ?

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार