विदेशमा रहेका नागरिकहरुकाे लगत संकलन गर्दै तारकेश्वर गाउँपालिका !



नुवाकोट | तारकेश्वर गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिककाे विवरण संकलन थालेको छ । अनलाइन सर्वेक्षण मार्फत फारम भरि पालिकाले आफ्नो पालिका भित्रका विदेशमा रहेका नागरिक हरुकाे विवरण संकलन गर्न थालेको हाे । पछिल्लो समय विदेशमा रहेका नेपाली नागरिक स्वदेश फर्कन चाहेको अवस्थालाई मध्यनजर गर्दै पालिकाले विदेशमा रहेकाहरुकाे संख्या एकिन गरि स्वदेश फर्कन चाहनेहरुलाइ संघीय सरकारसँग सहकार्य गरि उद्धार गर्ने उद्देश्यले अनलाइन फारमकाे सुरुवात गरेको पालिकाका अध्यक्ष रमेश बहादुर वस्तीले बताउनुभयो ।

भारतमा रहेका करिब ३०० जना फर्किन सक्ने पालिकाकाे अनुमान छ भने अहिलेसम्म ११० जनालाई उद्धार गरि सकिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले बागमती अनलाइनलाई जानकारी दिनुभयो । उद्धार गरिएका सबैलाई सरकारले ताेके अनुसार क्वारेन्टाइनमा राख्ने गरिएको छ । प्रशासकीय अधिकृत घिमिरेका अनुसार भारतबाहेकका मुलुकबाट फर्कन चाहनेहरुकाे हकमा संघीय सरकारले सहजीकरण गरेपछि पालिकाले आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण गरेर उनिहरुलाइ उचित व्यवस्थापन गर्नेछ ।

यस्तै तारकेश्वर गाउँपालिकाले कृषि क्षेत्रकाे प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक अनुदान स्वरुप मल वितरण गर्ने भएको छ । आगामी बजेटमा समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाले कृषि उत्पादनमा बढावा दिने लक्ष्य राखेको छ ।

अनलाइन मार्फत फारम भर्न यहाँ क्लिक गर्नुहाेला :

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार