राजाको फाेटाे भएको नाेट नचल्ने भन्ने हल्लाकाे वास्तविकता यस्तो हेर्नुस् भिडियो :



राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर कतिपयले गलत व्याख्या गरिदिए। अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने भनी केही अनलाइनले समाचार बनाइदिए। त्यही विषयलाई लिएर राष्ट्र बैंकले सोमबार थप प्रष्ट पार्दै अर्को विज्ञप्ति निकाल्यो। कोभिड १९ का कारण नोट छपाई र ढुवानीमा हुन गएको असहजतालाई मध्यनजर गर्दै प्रयोगमा ल्याउन सकिने अवस्थाका नोटलाई पुनः बजारमा लैजाने उद्देश्यले सफा नोट व्यवस्थासम्वन्धमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको राष्ट्र बैंकले प्रष्ट पारेको छ। साथै राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको राष्ट्र बैंकले जनाएको छ।

राजाको तस्वीर अंकित नोटहरु नचल्ने भन्ने हल्ला गलत भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। यद्यपी त्यस्ता नोटहरु राष्ट्र बैंकले केही वर्षदेखि नै खिच्दै आएको छ बैंकहरुमा संकलन भएका त्यस्ता नोटहरु राष्ट्र बैंकले खिचेपछि पुनः बजार पठाउन छोडेको १० वर्षभन्दा बढी भैसक्यो। अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन नयाँ होइन। बैंकहरुले राजाका तस्वीर अंकित नोट सर्वसाधारणबाट लिन्छन्, तर त्यस्ता नोट सर्वसाधारणलाई दिँदैनन्। यो व्यवस्था बैंकहरुले केही वर्ष पहिलेदेखि नै गर्दै आएको प्रवक्ता भट्टले जानकारी दिए। ‘राजाको तस्वीर अंकित नोटका सम्वन्धमा गरिएकाे व्यवस्था नयाँ होइन, मात्र बैंकबाट रिलिज हुँदैनन्, जुन पहिलेदेखि नै हुँदै आएकाे हाे’ भट्टले भने।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार