रौतहटवासी जागेपछि भारतले हेपेर बनाउँदै आएको बाँधको निर्माण कार्य रोक्यो



रौतहट, १२ जेठ । रौतहटको ईशनाथनगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा क्षेत्रमा भारतले बाँध अग्लो बनाउने कार्यलाई निरन्तरता दिएपछि स्थानीयवासी प्रतिकारमा उत्रिएका छन् । स्थानीयवासी जागेपछि भारतीय पक्षले हाललाई निमार्ण कार्य रोकेको छ । स्थानीय र भारतीय पक्षहरुको वादविवादका कारण सो क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । सो क्रममा रोक्न गएका स्थानीय र भारतीय पक्ष बीचमा ठुलै वादविवाद भएको पनि भएको स्थानीय आलोक सोनीले जानकारी दिनुभयो । उहाँको अनुसार शनिबार साँझ नेपाल र भारतीय पक्ष बीचमा निमार्ण कार्य रोक्ने सहमति भएर काम रोकेको भारतीय पक्षले आज बिहानैदेखि पुनः बाँध निमार्णको कार्य जारी राखेपछि स्थानीयहरु भेला भएर विरोधमा उत्रिएका थिए ।

सो क्रममा भारतको तर्फबाट ठूलो संख्यामा स्थानीय र सीमा सुरक्षा बल (एसएसबी) आएका थिए । स्थानीयको अवरोध पछि काम सुरु गरेको आधा घण्टामा काम रोकिएको थियो । भारतीय पक्षले बारम्बार काम रोक्छौँ भन्दै बाँध निमार्णको कार्य गर्न थालेपछि स्थानीयहरु पनि आजित भएका छन् ।

पेलेर भएपनि बाँध बनाउने भारतीय मानसिकता
भारतीय पक्ष पेलेर भएपनि बाँध निमार्ण गर्ने मनस्थितिमा रहेको छ । करिब १० वर्ष अगाडि बनाउन सुरु गरेको सो बाँध भारतीय पक्षले प्रत्येक वर्ष निरन्तर बढाउँदै आइरहेको छ । दुबै देशका जिल्ला स्तरका अधिकारीबीचमा पटक पटक बाँध निमार्णको कार्य तत्काल रोक्ने मौखिक सहमति भएपनि भारतले सम्झौतालाई लत्याउँदै भारतीय पक्षले लकडाउनको अवधिमा पनि बाँधको उचाइ बढाइरहेको छ । दिउँसो बन्द गरेपनि रातिको समयमा पनि भारतीय पक्षले काम गर्ने गरेको स्थानीय बताउँछन् । भारतले सो बाँधको छेउमा बोरामा वालुवा हालेर निकै वलियोसँग बनाइरहेको छ ।

उसले बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी बनाउँदै आइरहेको छ । भारतीय पक्षले अटेर गरेर आफूहरुलाई डुबाउने बाँध बनाउन थालेपछि आफुहरु त्यसको प्रतिकारमा उत्रिएको स्थानीय बच्चु साब बताउँनुहुन्छ । उहाँले भारतले स्थानीय प्रशासनको आग्रहलाई अटेर गर्दै बाँध बनाउन नरोकाले आफुहरु वाध्य भएर सो भारतको सो कार्यको विरोधमा उत्रिएको बताउनुभयो । ‘सोही बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी हामी डुबानमा पर्छौ’ उहाँले भन्नुभयो, ‘कहिलेसम्म भारतको यस्तो दादागिरीका कारण डुब्नुपर्ने हो थाहा छैन् ।’

बाँध बनाउन नदिन निरन्तर प्रतिकारमा उत्रन्छौं : स्थानीयवासी
सो वार्डका वडा अध्यक्ष विगु साहले आफुलाई डुबानबाट जोगाउन आफुहरु प्रतिकारमा उत्रिएको बताउनुभयो । उहाँले भारतीय पक्षले जसरी पनि नेपालीलाई पेलेरै भएपनि बाँध निमार्ण गर्न लागि परेको भन्दै आफुहरु त्यसलाई रोक्न निरन्तर लागि रहने बताउनुभयो । ‘हामी स्थानीयवासी आफ्नो तर्फबाट यस काम रोक्न निरन्तर लागिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘तर हामीमात्र एकतर्फी लडेर हुँदैन् नेपाल सरकारलेनै पहल गरेर यो कामलाई सधैको लागि रोक्नुपर्छ ।’ उहाँले आजलाई आफुहरुको प्रतिकारका कारण भारतले काम रोकेपनि कुनैपनि पनि बेला सुरु गर्नसक्ने आशंका व्यक्त गर्नुभयो ।

सरकारलाई बलियो बनेर कुरा उठाउन आग्रह
भारतले बनाएको सो बाँधको कारण सो नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्ण रुपमा डुबान पर्ने गरेको छ । भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६÷५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइरहेको छ भने वर्षाको पानीले नभत्कियोस् भनेर झन मजवुत बनाइरहेको छ । भारतले बनाइरहेको सो बाँध करिब तीन किलोमिटर भन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटर भन्दा चौडाईको रहेको छ भने नेपालतर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन ।

यसले गर्दा वर्षा याममा सो क्षेत्र पूर्णरुपमा डुबान पर्ने निश्चित देखिन्छ । सो बाँध निमार्णको क्रममा भारतले दशगजा क्षेत्रपनि मिचेको स्थानीयको आरोप छ । अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित दशगजा क्षेत्रमा यस्तो संरचना बनिरहँदापनि सरोकारवाला निकायले खासै चासो नदिएको स्थानीयको गुनासो छ । स्थानीयहरुले यो भारतलाई यो कार्य रोक्न लगाइ पानीको निकास नखोले वर्षा याममा ज्यान जोगाउन नसकिने बताउँदै केन्द्रीय स्तरमानै यसको पहल हुनुपर्नेमा माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार