लकडाउनको समयमा स्थानीयलाई व्यस्त राख्न ललितपुर महानगरपालिकाले कौसी खेती गर्न प्रेरित गरेको छ। महानगरले १९ वटा वडामा कौसी खेती गर्न मल र तरकारीको बीउ वितरण गरेको प्रवक्ता राजु महर्जनले जानकारी दिए। ‘२५ हजार घरधुरी बराबर भित्री वडाहरूमा मल र तरकारीको बीउ दिइएको छ। बाँकी १० वटा बाहिरी वडाहरूमा खेतीयोग्य जमिन धेरै भएकाले धान र मकैको बीउ साथै मल वितरण गरिएको छ,’ महर्जनले भने, ‘माटो सजिलै पाउन सकिन्छ, यो अभियानले स्थानीयलाई सजिलै हुन्छ होला।’
उनका अनुसार रायोको साग, मुला, धनियाँ, दुई प्रकारको सिमी लगायत ६ किसिमका बीउ वितरण गरिएको छ। आफ्नो कौसीको स्थान र वातावरण विचार गरेर घरधनीले बीउ तथा मल माग गर्न सक्छन् । स्थानीय वडा साथै टोल सुधार समिति मार्फत् बीउ माग गर्न सकिने उनले बताए। बीउ तथा मल वितरण कार्य सुरू भइसकेको बताउँदै उनले भने, ‘एउटा घर बराबर एक प्याकेट बीउ र मल दिने व्यवस्था छ। यसका लागि कुनै प्रक्रिया पूरा गर्न आवश्यक छैन।’ ललितपुर महानगरपालिकाले कौसी तथा करेसा खेती प्रोत्साहन गर्न महानगर प्रांगडमा बीउ एटिएम सञ्चालनमा ल्याएको थियो। मेसिनसम्म पुग्न असहज भएपछि महानगरले वडा मार्फत् निःशुल्क बीउ वितरण योजना ल्याएको हो।