काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य निरन्तर हुँदै



काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ । अहिले राजधानीको महाराजगञ्ज र चावहिल – चुच्चेपाटी क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ ठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ । त्यसबाट दुईवटा पाइप छिराएर तार राख्ने काम सम्पन्न गरिन्छ । यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिँदै छ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबर समेत बिछ्याइएको छ । अप्टिकल फाइबर बिछ्याइ सकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार