भारतका पूर्वजर्नेलको खुलासा : हिन्दु राजालाई ‘डिस्ट्रोय’ गर्न माओवादीलाई शक्तिमा पुर्यायौं (भिडियोसहित)



काठमाडौं, ९ जेठ । भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अभिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा विवाद उत्कर्षमा पुगिरहँदा पूर्व जनरल बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो गल्ती भएको तर्क गरेका छन् । ‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो गल्ती थियो,’ एबीपी न्युजको अन्तवार्तामा जनरल बक्सीले भने, ‘माओवादीलाई समर्थन गर्दा सेल्फ गोल थियो ।’ कम्युनिस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चुनौती दिएको उनको भनाई थियो । उनले भने, ‘म सिधा भन्छु कि यो भारतले गरेको आफैमाथिको गोल थियो । अब मिल्यो नि फल !’

प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट वामपन्थी पठाई पठाई माओवादीलाई स्थापित गरिदिएको सजाय भारतले भोगिरहेको तर्क गरे । उनले भने, ‘हामी छत्तीसगढमा माओवादीसँग लडिरहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्युनिष्ट पठाउने गल्ती भयो ।’ नेपाली राजनीतिमा स्थापितमध्ये कम्युनिस्ट नेताहरु जेएनयुमा अध्ययन गरेर फर्किएका हुन् । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई जेएनयुमा अध्ययन गरेका थिए । जेएनयुमा तत्कालिन माओवादी नेताहरुको बाक्लो ओहोरदोहोर हुन्थ्यो । त्यहाँको पुस्तकालयमा काम गर्ने बामदेव क्षेत्री माओवादी जनयुद्धकालमा पक्राउ परेका थिए ।

विगतको यस्तो इतिहास रहेको अवस्थाबीच बक्सीको भनाई अर्थपूर्ण छ । त्यसमाथि उनी भारतीय रक्षामन्त्री राजनाथ सिंहका निकट मानिन्छन् । विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालसँग भारतको रोटीबेटीको मात्र नभई रगतको सम्बन्ध रहेकाले कुनै हालतमा युद्ध हुननसक्ने स्पष्ट पारे । उनले भने, हाम्रो नेपालसँग रगतको सम्बन्ध भएकाले युद्ध असम्भव छ । नेपालका गोर्खा सिपाहीले भारतका लागि रगत बगाउँदै आएको स्मरण गराउँदै विगतका गल्ती सच्याउनुपर्ने बताए । उनले बारम्बार विश्वको एकमात्र हिन्दु राष्ट्रको अवस्थाको रक्षा गर्नुपर्नेमा जोड दिए ।
उनले पटक पटक चीनलाई कम्युनिस्टले नेपालमा ठाउँ दिएको बताए । चीनले नेपालमा अरबौं खर्च गरिरहेको समेत उनले आरोप लगाए ।

तलको लिंकमा गएर भिडियो हेर्न सक्नुहुन्छ :

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार