फेरि संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ५ सय ७ पुग्यो



काठमाडौं, ९ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन तीब्ररुपमा बढ्न थालेको छ । आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा १४ जना बाँकेका , ३ जना कैलालीका, १ जना डडेल्धुराका, १ जना बैतडीका र १ जना मोरङका छ्न । उनीहरु सबै पुरुष भएको बताइएको छ ।

कैलालीका संक्रमित पुरुषहरुको उमेर १९, २३ र २६ छ भने डडेल्धुराका २८ बर्षीया पुरुष छन् । त्यसतै बैतडीका २२ बर्षीय युवकमा पनि संक्रमण देखिएको छ भने मोरङ रतुवामाईका एक पुरुषमा पनि संक्रमण फेला परेको छ । कोरोना भाइरसको हटस्पट बनिरहेको बाँकेमा आज पनि १४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरुको उमेर १८ देखि ६१ बर्षसम्मको छ । यस्तै निको हुनेको संख्या ७० पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार