भारतीय प्रोफेसर स्वैन भन्छन्- ‘नेपाल कश्मिर होइन, नेपालकाे नयाँ नक्साकाे विरोध गर्नुकाे अर्थ छैन’



काठमाडौं, ८ जेठ । स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले सामाजिक सञ्जाल ट्वीटरमार्फत एकाउन्टबाट ट्वीट गर्दै नेपालकाे नयाँ नक्साकाे भारतले विराेध गर्नुकाे अर्थ नरहेकाे बताएका हुन् ।

उनले भारत र नेपालबीच ‘नक्सा युद्ध’ भएका पनि बताएका छन् । ‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरको नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन,’ उनले लेखेका छन् । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू आक्रोशित हुँदै नेपालविरूद्ध प्रचारबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार