
काठमाडाैं, ८ जेठ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । एबिपी न्यूजले अभिनेत्री मनीषा कोइरालाविरुद्ध आपत्तिजनक भाषामा टिप्पणी गरिएको थियो । जी न्युजले त भारत र नेपालबीच युद्ध नै भइरहेकाे जसरी भारत र नेपालकाे सैनिकबीच पनि तुलना गर्न भ्यायाे ।
यसरी भारतीय मिडियामा छटपटी देखिनु कालापानी क्षेत्रमा नेपालले गरेकाे दावीलाई नै बलियो देखाएकाे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएकाे छ । समाजिक सञ्जाल फेसबुमा उहाँ लेख्नुहुन्छ- ‘भारतीय मिडियामा जुनप्रकारको छटपटी देखिँदै छ, त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाई नै बलियो देखाउछ ।’ मुख्यामन्त्री पाेखरेलले नेपालको दावी कमजोर र आधारहिन भएको भए भारतीय मिडिया निम्न स्तरको वहसमा नउत्रिने पनि बताउनुभयाे । ‘यदी नेपालको दावी कमजोर र आधारहिन भएको भए भारतीय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन,’ मुख्यामन्त्री पाेखरेल लेख्नु हुन्छ, ‘नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन ।’
नेपालकाे आधार बलियो भएकाले चीनले द्विपक्षीय वार्ताबाट उक्त समस्याकाे समाधान गर्नुपर्ने बताएकाे पनि उहाँले बताउनुभएकाे छ । ‘भारतले त पाँच वर्ष पहिले नै चीनलाई उक्त सडकवाट व्यापार गर्न सहमत गराएकै थियो । तर नेपालको आधार बलियो भएको र नेपालले तत्काल असहमती जनाएका कारणले चीनले यतिवेला द्विपक्षीय वार्तावाट समस्या समाधानगर्न भन्नु परेको हो,’ उहाँले भन्नुभएकाे छ । भारतीय मिडियाले नेपाल पक्षको दावीको आधार प्रस्तुत नगरी एकलौटी रूपमा भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेकाे पनि उहाँले बताउनुभयाे । भारतीय मिडियाले यस विवादको आधार र पृष्ठभूमिका बारेमा भारतीय जनतालाई गुमाराहमा राखिरहेकाे समेत बताउनुभयाे ।
भारतकाे यस्तै हर्कतले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई ‘सत्यमेव जयते कि सिंहमेव जयते’ ? भनेर प्रश्न गर्नुपरेकाे पनि बताउनुभएकाे छ । ‘त्यही भएर त सम्माननीय प्रधानमन्त्रीले भारतको प्रतिक चिन्हलाई संकेत गर्दै भन्नु परेको हो- ‘सत्यमेव जयते कि सिंहमेव जयते’ ? आशा गरौ ‘सत्यमेव जयते’ नै हुनेछ,’ मुख्यामन्त्री पाेखरेलले लेख्नुभएकाे छ ।