
ललितपुर,जेठ ७ | समुदायमा कोभिड १९ को सन्त्रासका कारण नकरात्मक असर पर्न गइ मानसिक समस्या आउन सक्नेमा नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा २०७७ जेठ ७ गते भएको भर्चुअल अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो धारणा राखेका हुन । इन्सेकका निर्देशक श्रीराम बजगाईले कोभिड १९ का कारण बन्दाबन्दिको अवस्थामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकार पत्रकार र नागरिक अधिकारकर्मीहरुले खेलिरहेको भूमिका बारे जानकारी आदानप्रदान गर्न भर्चुअल अन्तरक्रिया गरिएको बताउनु भयो । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतानले समाजलाई उत्तेजित गर्ने र आबेग सिर्जना गर्नेभन्दा समस्या समाधान हुने दृष्टिले समाचार सम्प्रेषण हुनु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले केही दिन पहिले कोन्ज्योसोममा कोभिड १९ को आरडिटि परिक्षणबाट दुई जनाको पोजेटिभ रिपोर्ट आएको समाचार अनलाइनहरुमा प्रकाशित भएपछि समाज त्रसित भएको घटना स्मरण गर्दै समाजको चेतनास्तर अनुसारका सन्देश प्रवाह हुनु पर्नेमा जोड दिनुभयो ।
कोन्ज्योसोम गाउँपालिकाले लकडाउनका कारण समयमै सूचना प्रवाह हुन नसकेको भएपनि आगामी दिनहरुमा हरेक गतिविधिको पत्रकारहरुलाई जानकारी दिने प्रतिबद्धता जनाउनु भयो ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोभिड १९का कारण एकान्तबासमा बसिरहेका नागरिकलाई दिइरहेको सेवाको अवस्था बारे नागरिक समाज र सञ्चारजगतबीचको सहकार्यमा जोड दिनुभयो । इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले स्थानीय सरकारमार्पmत राहत वितरण, कतिपयस्थानमा सामूहिक खाना वितरण समेत गर्दा कतिपय त्रुटि भएका समाचारले दुःखि तुल्याएको बताउनु भयो । उहाँले हाल कतिपय स्थानीय सरकारले कामका लागि खाद्यान्न वितरण गर्न खोज्दा अपेक्षित उपलब्धी नपाएका खबरले समाजको आवश्यकता र स्थानीय तहले वितरण गरेको राहतलाई कसरी प्रयोग भएको छ भन्ने स्पष्ट भएको उल्लेख गर्नुभयो । संयोजक भण्डारीले सरकारले कामका लागि खाद्यान्न वितरण गर्ने र कृषकलाई मलबिउमा अनुदान दिइ भविष्यमा खाद्य समस्या आउनबाट जोगाउनु पर्ने खाँचो औँल्याउनु भयो । नेपाली कांग्रेस ललितपुरका पूर्व सचिव रविन्स शर्माले सरकारी तहबाट नियमित जानकारी दिनु पर्ने खाँचो औँल्याउदै समुदायमा आक्रोस पैदा गर्ने किसिमले समाचार सम्प्रेषण हुन नहुनेमा जोड दिनुभयो ।
अधिकारर्की बद्रिप्रसाद सिवाकोटीले कोभिड १९ संवेदनशील विषय भएकोले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गर्न नहुनेमा सञ्चारकर्मीहरुको ध्यानाकर्षण गर्नुभयो । उहाँले स्थानीय सरकारले बाँझो जग्गामा खेती, कृषि ऋण र अनुदान लगायतका योजना अघि बढाउनु पर्ने उल्लेख गर्दै दीर्घ रोगी, नियमित औषधी खानुपर्ने नागरिकहरुको लगत अद्याबधिक गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो । गैरसरकारी संस्था महासंघका प्रतिनिधि दीपना शर्माले स्थानीय तहले क्वारेन्टाइन बनाउन नसक्दा उपत्यका बाहिरबाट आउने नागरिकहरु बस्न नपाएको बताउनु भयो । उहाँले त्यस्ता नागरिक डेराकोठामा आउँदा समुदायमा रोग पैmलिने त्रास बढेको समुदायलाई सुरक्षित राख्न उपत्यकाबाट बाहिर आवतजावतमा कडाइ गर्नु पर्ने खाँचो औँल्याउनु भयो ।
नेपाल पत्रकार महासंघ ललितपुरका सचिव सविन शर्माले कोभिड १९ को प्रभाव बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहहरुले क्वारेन्टाइन बनाउनु पर्ने सुझाव दिँदै एकीकृत सूचना प्रणाली विकास गर्नु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले एकीकृत सूचना प्रणालीको विकास नहुँदा पत्रकार सूचना खोज्ने, जिम्मेवार निकाय सूचना सम्प्रेषण गर्न हिच्किचाउनुले नागरिकहरुमा त्रासको वातावरण सिर्जना भएका घटना प्रस्तुत गर्नुभयो ।
डेमोक्रेटिक लयर्स एशोसिएसनका प्रतिनिधि प्रल्हादकुमार महतले ललितपुरका दुर्गम क्षेत्रहरुमा कोभिड १९ को परीक्षणलाई व्यवस्थित गर्नु पर्ने खाँचो औँल्याउँदै नागरिकहरुकै खर्चमा कोभिड १९ को परीक्षण गर्नु नेपालको संविधानको धारा ३५ बिपरित हुने चर्चा गर्नुभयो । प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहालले समाचार सङ्कलनका लागि स्थलगत हिँड्ने पत्रकारहरुको कोभिड १९ को परीक्षण गर्नु पर्ने खाँचो औँल्याउँदै समुदाय, स्थानीय सरकार र पत्रकारबीच सुमधुर सम्बन्ध हुनु पर्नेमा जोड दिनुभयो । राससका प्रतिनिधि सुभानु आचार्यले स्थानीय जनप्रतिनिधिहरुले खाद्य समस्या परेको आवेदन दिनेहरुको स्थलगत अनुगमन गर्नु पर्ने खाँचो औँल्याउँदै हुनेखोनलाई नभइ हुँदा खानेलाई राहत दिनु पर्नेमा जोड दिनुभयो ।